केही वर्षदेखि ठूला-ठूला नेपाली चलचित्रको वितरण अधिकार लिँदै आएको जिजिए ग्रुपले आउँदो जेठभित्र चार महिनाका लागि पहिलो चरणमा आधा दर्जन चलचित्र र दोस्रो चरणमा अर्को आधा दर्जन चलचित्रको रिलिज लाइनअप घोषणा गर्ने भएको छ । रिच इन्टरटेन्मेन्ट र जिजिए ग्रुप गाभिएसँगै अहिले एक दर्जन बढी चलचित्रको रिलिज लाइनअप तयार गरिरहेको करण श्रेष्ठले बताए ।
उनले भने- ‘कोरोनाले धरासायी भएको चलचित्र क्षेत्रलाई चलायमान बनाउन अब एउटा मात्र चलचित्रको रिलिज डेट घोषणा गरेर हुँदैन । अब जिजिए ग्रुपले ब्याक टू ब्याक चलचित्र रिलिज गर्ने तयारी गरेको छ । अहिले हामी चलचित्रको रिलिज लाइनअप बनाइरहेका छौं । आउँदो बैशाख वा जेठबाट दुई-दुई हप्ताको अन्तरमा ४ महिनाका लागि पुग्ने गरी चलचित्रको रिलिज लाइनअप घोषणा गर्दैछौं ।’

यो लाइनअपमा ‘म यस्तो गीत गाउँछु २, चिसो मान्छे, तीन जन्तु, सुस्केरा, माइकल अधिकारी’ लगायतका चलचित्र पर्ने उनले बताए । उनले अगाडि भने- ‘चलचित्र क्षेत्रको हितका लागि हामीले चलचित्रको रिलिज लाइनअप घोषणा गर्न लागेका हौं । पहिलो चरणमा भदौसम्मका लागि चलचित्रको रिलिज घोषणा गछौं । त्यसपछि अर्को चरणमा बाँकी चलचित्रको रिलिज लाइपअप घोषणा हुनेछ ।’
अरु नेपाली चलचित्रसँग नजुध्ने गरी जिजिए ग्रुपले चलचित्रको रिलिज घोषणा गर्ने वितरण श्रेष्ठ बताउँछन् । यो समयमा चलचित्र जुधाउनु चलचित्र क्षेत्रका लागि पनि राम्रो नहुने उनको भनाई छ । ‘यतिबेला चलचित्र क्षेत्रलाई चलायमान बनाउनुपर्ने सबैको दाहित्व हो । त्यसैले यो समयमा चलचित्र जुधाएर होइन, मिलेर जानुपर्छ । चलचित्रको रिलिज मिलाउन जिजिए ग्रुपले पहल पनि गर्नेछ,’ करणले भने ।




