‘२ नम्बरी’ को छायांकन सर्‍यो



चैतबाट सुरु गर्न लागिएको चलचित्र ‘२ नम्बरी’ को छायांकन पाँच महिना पछाडि सरेको छ । निर्देशक दीपेन्द्र लामाले आउँदो भदौबाट चलचित्रको बाँकी छायांकन सुरु गरिने जानकारी दिए । चलचित्रमा भुटानी अभिनेत्री उगेन छोदेनको मुख्य भूमिका छ । चलचित्रको छायांकन रोकिएपछि उनी लकडाउनको समयमा स्वदेश फर्किएकी थिइन् । अहिले भुटानबाट नेपाल उडान बन्द भएकाले उनी तत्काल नेपाल आउन सम्भव नभएपछि चलचित्रको छायांकन सारिएको हो ।

‘अहिले भुटानबाट नेपाल उडान बन्द छ । त्यसमाथि कोरोनाका कारण विदेशीहरुलाई अराइभल भिषा दिइएको छैन । यसले गर्दा अहिले उगेनले नेपाल आउन भारतीय दूतावासमा भिषा आवदेन दिनुपर्छ । भुटानबाट दिल्ली पनि हप्तामा एउटा मात्र उडान रहेछ,’ निर्देशक लामाले भने, ‘उगेनलाई कुर्दा अरु कलाकारहरुको सेड्युल विग्रने भएपछि भदौबाट छायांकन गर्न लागेका हौं ।’

उगेन नेपाल आउने अनिश्चित भएकाले मात्र चलचित्रको छायांकन पछाडि सरेको भने होइन । दयाहाङ राईदेखि छायाँकारसम्मको सेड्युल टाइट भएकाले पनि चैतबाट चलचित्रको छायांकन सुरु गर्न निर्माण टिमलाई समस्या भएको हो । निर्देशक लामा भन्छन्, ‘उगेनको फ्ल्याइट एक हप्ता पछाडि सर्‍यो भने अरु कलाकारको सेड्युल विग्रन्छ । त्यसैले भदौबाट छायांकन गर्न लागेका हौं ।’

दुई मिल्ने साथीको कथामा बन्न लागेको चलचित्रमा उगेन र दयाहाङको जोडी बाँधिएको छ । चलचित्रमा पल शाह र वर्षा राउत पनि मुख्य भूमिकामा छन् । रेड वर्ड प्रोडक्सन र आरआएर फिल्म प्रोडक्सनको ब्यानरमा रोहित कट्टेल र सरोज नेपाली निर्माता रहेको चलचित्रको प्रस्तुतकर्तामा किरण नेपाली छन् । रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्रमा दयाहाङ र पल साथीको भूमिकामा छन् ।

यो चलचित्रको छायांकन ५ महिना पछाडि सर्दा सबैभन्दा बढी फाइदा दयाहाङलाई भएको छ । उनले यही चैत अन्तिमबाट चलचित्र ‘बिहे पास’ को छायांकन सुरु गर्दैछन् । यसपछि बैशाख अन्तिमबाट चलचित्र ‘कबड्डी ४’ का लागि समय दिँदैछन् । उगेन नेपाल आएर चैतबाटै ‘२ नम्बरी’ छायांकनमा निस्किएको भए उनले ‘बिहे पास’ छाड्नै पर्ने हुन्थ्यो । तर, अब उनलाई राहत मिलेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu