चलचित्र सम्बन्धि गतिविधि समेट्ने नयाँ च्यानल ‘कान्तिपुर सिनेप्लेक्स’ सुरु भएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले क्ल्याप बोर्ड ठोकेर च्यानलको शुभारम्भ गरे । उनले लकडाउनमा यो च्यानलको जन्म भएको बताए । उनले भने- ‘लकडाउनमा सिनेमा हलहरु बन्द थिए । घरमा बसेर दिन काट्न सबैलाई गाह्रो भएको थियो । त्यसैको उत्पत्ति ‘कान्तिपुर सिनेप्लेक्स’ हो ।’

च्यानलसँग तीन सयभन्दा बढी चलचित्र ‘स्टक’ मा रहेको उनले बताए । चलचित्र निर्माण गर्न कान्तिपुर स्टूडियोको पनि स्थापना गरिएको सिरोहियाले जानकारी दिएका छन् । याक एन्ड यति होटलमा भएको च्यानलको शुभारम्भ कार्यक्रममा नेपाली चलचित्रका कलाकार, निर्देशक, निर्माता, प्राविधिक तथा पत्रकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
कलाकार हरिवंश आचार्यले १६ पैसामा चलचित्र हेरेको स्मरण गर्दै इतिहासमा बनेका चलचित्रलाई ‘कान्तिपुर सिनेप्लेक्स’ ले एचडीमा रुपान्तरण गरेर दर्शकलाई हेर्ने वातावरण बनाउनेमा विश्वास व्यक्त गरे । अभिनेता राजेश हमालले चलचित्रसँग सम्बन्धित च्यानल भएकाले चलचित्र क्षेत्रका लागि खुसीको कुरा रहेको बताए । सुनील थापा, शम्भुजित बाँस्कोटा, निरुता सिंह, दीपाश्री निरौला, भुवन केसी दीपकराज गिरी, पूजा शर्मा लगायतले पनि च्यानलको सफलताको शुभकामना दिएका थिए ।


