नेपाली चलचित्रका चर्चित अभिनेता निखिल उप्रेतीले गरिबीले सफलता प्राप्त गर्न बाधा नभइ सहयोग गर्ने बताएका छन् । शनिवार सर्लाहीको बरहथवा नगरपालिकाको आयोजनामा भएको ‘सर्लाही स्वर्णिम सम्मान २०७७’ बाट सम्मानित भएपछि उनले आफ्ना प्रशंसकहरुलाई हौसला प्रदान गर्दै आर्थिक अवस्था र कमजोरीले कुनै पनि ठाउँमा पुग्न बाधा नगर्ने बताए ।

‘गरिबीसँग लड्दा लड्दै लड्ने क्षमता त्यसै नै बनिसकेको हुन्छ । गरिबीलाई अप्ठ्यारो भन्दा पनि चुनौती बन्न सक्नुपर्छ, सफलता त्यतिक्कै आउँछ,’ उनी भन्छन्, ‘आफैंलाई म गरिब छु वा अप्ठ्यारोमा छु भनेर नसोच्नु । म पनि भैंसी चराएरै हिँडेको हो । मलाई यो ठाउँमा पुग्न कसैले रोकेन । यदी हामी गरिबीका कारण सफल बन्न सकेनौं भनेर सोचिरहेका छौं भने त्यो हाम्रो कमजोरी हो ।’
उनले कलाकार बन्नका लागि टिकटकमा मात्र हिट भएर नहुने पनि बताएका छन् । निखिल अगाडि भन्छन्, ‘टिकटकमा हिट भएर मात्र हुँदैन, ठूलो प्लेटफर्ममा जाने पनि आश राख्नुपर्छ । जहिल्यै पनि ठूलो सोच्नुपर्छ । सानोमा हामीले खुबी देखायौं भने त्यसलाई ठूलो बनाएर आउनु पर्छ ।’ आफू निखिल उप्रेती बन्नको पहिलो सुरुवात नै भैंसीबाट जिमन्यास्टिक गरेर भएको उनी बताउँछन् ।




