अभिनेता सौगात मल्ल नयाँ चलचित्रको छायांकनका लागि भारतको सिक्किम पुगेका छन् । बुधवार (भोली) बाट छायांकन सुरु हुन लागेको चलचित्र ‘जार’ मा अभिनय गर्नका लागि उनी त्यहाँ पुगेका हुन् । चलचित्रमा उनीसँगै ह्यान्डसम भिलेनको रुपमा परिचित अनुप विक्रम शाहीको पनि अभिनय रहनेछ । सौगात र अनुपले ‘सौर्य र लप्पन छप्पन २’ पछि तेस्रो पटक सँगै काम गर्न लागेका हुन् ।

फेरी टेली पिक्चर्स, होप रिल र एल सेभेन सर्टस्को ब्यानरमा निर्माण हुने चलचित्र सत्य कथामा आधारित भएर बन्न लागेको बताइएको छ । सन् १८ सयको दशकतिर सिक्किमेली समाजमा घटेको एक यथार्थ घटनामा चलचित्र निर्माण हुन लागेको हो । फुर्वा छिरिङ लामाले निर्देशन गर्ने चलचित्रमा गीताञ्जली थापा मुख्य नायिकामा छिन् । उनले थुप्रै बलिउड चलचित्रमा काम गरिसकेकी छन् ।
प्रायः भारतीय कलाकारहरुको अभिनय रहने चलचित्रको सम्पूर्ण छायांकन सिक्किममै हुनेछ । आउँदो वर्षको दशैं र तिहारको बीचमा प्रदर्शन लक्ष्य राखिएको चलचित्रको छायांकन अवधि २० दिनको हुने निर्देशक लामाले बताए । ‘जार’ को कथा इन्द्र बहादुर राईको लेखेका हुन् भने स्क्रिनप्ले निर्देशक लामा स्वयंको हो । चलचित्रमा सौगात र अनुपको भूमिकाबारे भने खुलाइएको छैन ।




