नयाँ चलचित्र निर्माण गर्दै सविन



अभिनेता सविन श्रेष्ठ निर्माता समेत बनिसकेका छन् । उनले पहिलो पटक चलचित्र ‘हिरो रिर्टन्स’ निर्माण गरेका थिए । तर, निर्माण भएको करीब ३ वर्ष चलचित्र कम्प्यूटरमा थन्कियो । चलचित्र नै पुरानो हुन थालेपछि यस वर्षको बैशाख २६ गतेलाई निर्माण टिमले प्रदर्शन मिति घोषणा गरेको थियो । तर, कोरोना महामारीका कारण चलचित्र हलमा रिलिज हुन पाएन ।

यसपछि निर्माण टिमले सिनेमा हलको विकल्प खोज्दै लकडाउनको समयमा डिसहोममा चलचित्र रिलिज गरेको थियो । पहिलो निर्माणमा नै धक्का खाएका सविन अब नयाँ चलचित्रको तयारीमा जुटेका छन् । उनी यही चैत अन्तिम साता चलचित्रको औपचारिक घोषणा गरेर बैशाखबाट छायांकन सुरु गर्ने तयारीमा छन् । यो चलचित्रमा आफू भिलेनको भूमिकामा देखिन सक्ने उनले बताए ।

‘हिरो रिर्टन्स’ बाट आफू निराश नभएको सविनको तर्क छ । उनी भन्छन्, ‘निराश भएको थिएँ भने त नयाँ चलचित्र बनाउने आँट नै गर्दिनँ थिएँ नी । ‘हिरो रिर्टन्स’ बनाएर प्रदर्शन गर्ने समयमा लकडाउनले रोक्यो । अहिले चलचित्रको विभिन्न ठाउँमा च्यारिटी गरिरहेको छु । यसैको उत्साह र उमंगले फेरि नयाँ चलचित्र बनाउन लागेको हुँ । अब चलचित्र निर्माणलाई निरन्तरता दिने छु ।’

आफूले निर्माण गर्ने चलचित्रमा अब आफैं हिरो हुने सोच नरहेको उनको भनाई छ । ‘कथाले माग्यो भने खेल्छु नभए नयाँ प्रतिभालाई अवसर दिनेछु । त्यसमाथि यसपटक लभस्टोरी चलचित्र बनाउन लागेको हुँ । म हिरो बन्दिनँ, भिलेनको भूमिकामा चाहिँ देखिन सक्छु,’ उनले भने । चलचित्रमा निर्देशकदेखि कलाकारसम्म सबै नयाँ हुने उनले बताए । अभिनेत्री भने भारतीय मुलकी हुनेछिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu