स्टार कलाकारसँग काम गर्न रुचाउने निर्देशकमा पर्छन्, मुकुन्द भट्ट । उनले ‘छप्पन छप्पन’ र यसको दोस्रो सिरिजमा मल्टीकास्टलाई निर्देशन गरेका छन् । उनी निर्देशित नयाँ चलचित्र ‘छप्पन छप्पन २’ यही चैत २७ गते देशव्यापी प्रदर्शनमा आउँदैछ । यो चलचित्र प्रदर्शनमा आएपछि उनी नयाँ चलचित्र बनाउने तयारीमा छन्, जसका लागि अभिनेता पुष्प खड्का अनुबन्ध भइसकेका छन् ।
मल्टीकास्टलाई लिएर ‘छप्पन छप्पन’ को दुई सिरिज बनाएका मुकुन्द पुष्पलाई लिएर बनाउन लागेको नयाँ चलचित्रमा पनि स्टार कलाकारसँग काम गर्न अगाडि सरेका छन् । उनले यो चलचित्रको प्रस्ताव अभिनेता त्रय सौगात मल्ल, निश्चल बस्नेत र अनमोल केसीलाई गरेका छन् । सौगात र निश्चलसँग उनको मौखिक सहमति नै भइसकेको स्रोत बताउँछ । अनमोलले भने वचन दिइसकेका छैनन् ।

मुकुन्दले अनमोललाई चलचित्र अफर गरेको कुरा स्वीकार गरे । उनले भने- ‘अनमोलसँग कुरा भइरहेको छ । उहाँलाई चलचित्रको कथा मन परेको छ । अहिलेसम्म कागजी सम्झौता चाहिँ भएको छैन । केही समयमा चलचित्रको घोषणा गर्नेछौं ।’ उनले चलचित्रका लागि अनमोललाई ७५ लाख अफर गरेको पनि चर्चा छ । तर, अहिलेसम्म पारिश्रमिकको विषयमा कुरा नभएको उनले बताए ।
चलचित्रलाई लिएर निश्चल र सौगात पनि सकारात्मक रहेको उनको भनाई छ । महाशिवरात्रीमा भएको ‘छप्पन छप्पन २’ को ट्रेलर सार्वजनिक कार्यक्रममा चलचित्रलाई शुभकामना दिन निश्चल र अनमोलका पिता भुवन केसी पुग्नुले पनि मुकुन्दसँँग नयाँ चलचित्रमा सहकार्य हुन लागेको कुरालाई बल मिलेको छ । सौगातसँग मुकुन्दले ‘छप्पन छप्पन’ का दुई सिरिजमा काम गरिसकेका छन् ।
उनी आफूलाई मल्टीस्टारसँँग काम गर्न मज्जा आउने बताउँछन् । मुकुन्द भन्छन्, ‘मलाई जति मल्टीस्टार भयो, त्यति काम गर्न मज्जा लाग्छ । ठूला स्टार भएपछि अरुलाई गाह्रो हुन्छ भन्ने सुन्छु, मलाई चाहिँ मज्जा आउँछ ।’ अहिले चलचित्रको स्क्रिप्टमा काम भइरहेको उनले बताए । निश्चल, सौगात, अनमोल र पुष्पले एउटै चलचित्रमा काम गरेको खण्डमा दर्शकका लागि खुसीको खबर हुनेछ ।




