पछिल्लो समय कथा सुहाउँदो पात्रका लागि अडिसनबाट कलाकार छनोट गर्ने क्रम बढिरहँदा चलचित्र ‘प्रेमगञ्ज’ ले पनि मुख्य कलाकारहरु अडिसनबाट छानेको छ । गएको फागुन २५ गते भएको अडिसनमा सहभागीमध्ये राइडर प्रशान्त, सुप्रिया खनाल, सिमरन खड्का र बालकलाकार आयुषी ढकाललाई निर्माण टिमले अनुबन्ध गरेको हो । प्रशान्त र सुप्रिया टिकटकमा चर्चित छन् ।

चलचित्रले दुई कालखण्डको प्रेमकथा प्रस्तुत गर्नेछ, जसमध्ये पहिलो खण्डको प्रेमकथामा प्रशान्त, सुप्रिया र सिमरनले जोडीको रुपमा अभिनय गर्नेछन् । उनीहरू ठूलो भएपछिको भूमिकामा अभिनय गर्नका लागि कलाकारको खोजी भइरहेको र चाँडै त्यसको पनि टुंगो लाग्ने निर्देशक परिच्छेन सेनले बताए । उनकै कथा लेखन रहेको चलचित्रको चैत २५ गतेबाट छायांकन सुरु हुँदैछ ।
दुई दशकदेखि नेपाली चलचित्रमा स्पोट ब्वाईको रुपमा काम गर्दै आएका राजु फुयाँलले ‘प्रेमगञ्ज’ को निर्माण गर्न लागेका हुन् । चलचित्रका कार्यकारी निर्मातामा अनन्तमान श्रेष्ठ छन् । काभ्रे, जिरी र काठमाडौंमा छायांकन हुने चलचित्र पूर्णत प्रेमकथामा आधारित हुनेछ । चलचित्र चौतारीको ब्यानरमा निर्माण हुने चलचित्रलाई उत्कृष्ट बनाउन कुनै कसर नछाड्ने निर्देशक सेनले बताएका छन् ।