भारतमा एकैदिन ४० हजारभन्दा बढी कोरोना भाइरस संक्रमित भेटिएपछि नेपाल सरकारले सभा, गोष्ठी, जुलुस, र्याली, भेला, सेमिनार, बैठक, भीडभाड हुने व्यावसायिक कार्यहरु नगर्न आग्रह गरेपछि यही चैत २७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘लप्पन छप्पन २’ को रिलिज फेरि रोकिएको छ । निर्देशक मुकुन्द भट्टले अब निर्धारित मितिमा चलचित्र प्रदर्शन नहुने जानकारी दिए ।

पुरुषोत्तम प्रधानको छायांकन रहेको ‘लप्पन छप्पन २’ मा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, प्रकाश कुँवर, स्व।दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्ट, शक्ति श्रेष्ठ, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, सृजना सिना लगायतका कलाकारको अभिनय छ । महाशिवरात्रीको अवसरमा निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको थियो ।
गोल्डेन हिल्स पिक्चर्स, रोयल कुँवर इन्टरटेनमेन्ट, इपी एजुकेशन अस्ट्रेलिया, उमी ग्रुप युरोप र म्याक मिडियाको ब्यानरमा निर्माण भएको चलचित्रको कार्यकारी निर्मातामा सुरज अधिकारी र प्रजापति सिवाकोटी छन् । चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मल कुमार मिश्र र सन्तोष चन्द्र भक्रेल निर्माता रहेको चलचित्रका प्रस्तुतकर्ता खिलेन्द्रराज तिमसिना र निर्देशक मुकुद भट्ट हुन् ।




