गायक तथा म्यूजिक भिडियो निर्देशक सरोज ओलीले अब चलचित्र निर्माण गर्ने भएका छन् । उनले शुक्रवार फेसबुकमार्फत् यसको जानकारी दिएका हुन् । उनको प्रोडक्सन कम्पनी शुभ मिडियाको ब्यानरमा चलचित्र निर्माण हुनेछ । उनले यसै हप्ता कानुनी प्रक्रिया पूरा गरेर अर्को हप्ता कलाकारसहित चलचित्रको औपचारिक निर्माण घोषणा गरिने जानकारी दिएका छन् ।

चलचित्रको निर्देशन भने सरोज आफैंले नगर्ने भएका छन् । म्यूजिक भिडियो र चलचित्रका गीतमा कोरियोग्राफी गरिसकेका विक्रम स्वारले चलचित्रको निर्देशन गर्नेछन् । ६ महिनापछि छायांकनमा निस्कने बताइएको फिल्मका लागि मुख्य नायकमा पल शाह फाइनल भएको विश्वस्त स्रोतले बताएको छ । पछिल्लो समय सरोजले पललाई लिएर भिडियोहरु बनाइरहेका छन् ।
अब उनले चलचित्र पनि पललाई नै लिएर बनाउन लागेको स्रोतको दाबी छ । तर, सरोज चलचित्रको बारेमा अहिले नै केही नबोल्ने भन्दै पन्छिएका छन् । पल साइन भएको कुरा फुत्किने डरले उनले चलचित्र घोषणा अवधिसम्म पर्खिन आग्रह गरेका छन् । ‘सत्यम् र दुई नम्बरी’ चलचित्रको छायांकन सकिएपछि पलले सरोजको चलचित्रलाई समय दिने बुझिएको छ ।