कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै चैत २७ मा प्रदर्शनमा आउन लागेको चलचित्र ‘मनसँग मन’ को अनिश्चितकालका लागि रिलिज पोस्टपोन्ड भएको छ । सोमवार निर्माण टिमले प्रदर्शन मिति स्थगन भएको जानकारी दिँदै दुई नयाँ पोस्टर सार्वजनिक गरेको छ । जसमा चलचित्रका मुख्य अभिनेता पुष्प खड्का र अभिनेत्री वर्षा सिवाकोटीलाई रोमान्टिक मुडमा देख्न सकिन्छ ।

चलचित्रमा वुद्दि तामाङ, चाँदनी प्रधान, महेन्द्र बागदास, सन्ते दाको पनि मुख्य भूमिका छ । चलचित्रको शिर्ष गीतमा भने नायक पल शाह र नायिका पूजा शर्माले नृत्य गरेका छन्, जुन यूट्युबमा सार्वजनिक भइसकेको छ । लकडाउनभन्दा अगाडि चलचित्रको गीत बाहेकका दृश्य दार्जिलिङमा खिचिएको थियो । यो चलचित्रमा पुष्पलाई दर्शकले रोमान्टिकसँगै एक्सन अवतारमा देख्न पाउनेछन् ।
चलचित्रमा कैलाश राइको निर्देशन र अरुण तामाङको एकल लगानी छ । चलचित्रमा सौरभ लामाको छायांकन, अर्जुन जीसीको सम्पादन, अर्जुन पोखरेल, दीपक शर्मा र अगोम गुरुङको संगीत, कमल राई र रामजी लामिछानेको नृत्य निर्देशन, सन्तोष खवासको द्वन्द्व छ । यसअघि चैत २७ बाट ‘लप्पन छप्पन २’ पनि पछाडि हटेको थियो । अहिलेसम्म यो मितिमा चलचित्र ‘कृष्ण लीला’ भने यथावत छ ।




