नायक अनमोल केसी नेपाली चलचित्रका अहिलेका हटकेक हुन् । नेपाली चलचित्रमा उनको माग एकदमै धेरै छ । एक समय उनका पिता भुवन केसीले नेपाली चलचित्र आफ्नो वर्चश्व कायम गरेका थिए । अहिले अनमोल नेपाली चलचित्रका नम्बर वान नायक बनेका छन् । नेपाली चलचित्र भनेपछि नाक खुम्च्याउने पुस्तालाई नेपाली चलचित्रप्रति रुची जगाउन उनको ठूलो योगदान मानिन्छ ।
उनै, अनमोल मंगलवारबाट २७ वर्षका भएका छन् । २०५० साल चैत १७ गते बिहान ११ बजेर ३० मिनेटमा काठमाडौंस्थित ओम नर्सिङ्गमा सुष्मिता केसी र भुवन केसीको कोखमा उनको जन्म भएको हो । उनी ५ वर्षको हुँदा सुस्मिता र भुवन अलग भएका थिए । उनी भने पितासँग नै बसे । उनले २०१३ मा हेमराज विसी निर्देशित चलचित्र ‘होस्टेल’ बाट नायकको रुपमा डेब्यू गरेका हुन् ।

पहिलो चलचित्रबाटै स्टारको रुपमा उदाएका उनले यसपछि ‘जेरी, गाजलु, ड्रिम्स, कृ, ए मेरो हजुर ३ र क्याप्टेन’ मा काम गरे । यीमध्ये ‘कृ र क्याप्टेन’ ले नाफाको व्यापार गर्न सकेनन् । बाँकी चलचित्रले भने अनमोलको स्टारडम उत्कर्षमा पुर्यायो । सिंगो चलचित्र आफ्नो काँधमा बोकेर सफल बनाउन सक्ने स्टारडम बनाएका उनी नेपाली चलचित्रका सबैभन्दा महंगा अभिनेता समेत मानिन्छन् ।
निर्देशक मुकुन्द भट्टले नयाँ चलचित्रका लागि ७५ लाख रुपैयाँ अफर गर्नुले पनि अनमोलप्रति नेपाली निर्माताको कति विश्वास छ भन्ने प्रस्ट्याउँछ । अहिले उनी चलचित्र ‘ए मेरो हजुर ४’ को छायांकनमा व्यस्त छन् । यसपछि चलचित्र ‘पारस’ मा व्यस्त हुनेछन् । हरेक चलचित्रमा अभिनयको आलोचना खेप्दै आएका उनले आफ्नो चरित्रलाई न्यायपूर्वक निर्वाह गर्न भने निकै मिहिनेत गर्ने गरेका छन् ।




