हल व्यवसायीले एमजी दिए ‘कृष्ण लीला’ चलाउँछौं : रोहित कट्टेल



भारतमा कोरोनाको दोस्रो लहर सुरु भएपछि यसको असर नेपाली चलचित्र क्षेत्रमा परेको छ । संक्रमणको भयले हलमा दर्शक घट्न थालेपछि एकपछि अर्को चलचित्रको रिलिज पोस्टपोन्ड भइरहेको छ । यही चैत २७ मा प्रदर्शन हुन लागेको तीन चलचित्रमध्ये ‘लप्पन छप्पन २ र मनसँग मन’ को रिलिज पनि सरेको छ । ‘कृष्ण लीला’ भने अहिलेसम्म यो मितिबाट डगमगाएको छैन ।

चलचित्रका प्रस्तुतकर्ता रोहित कट्टेल हल सञ्चालकहरुले लगानी सुरक्षित हुने वातावरण बनाए ‘कृष्ण लीला’ रिलिज गर्न तयार रहेको बताउँछन् । उनी भन्छन्, ‘अहिलेसम्म हामी चैत २७ बाट सरेका छैनौं । तर, यो मितिका सबै चलचित्र सरिसकेको अवस्थामा हामी पनि करोडौंको लगानीमा रिक्स उठाउन सक्दैनौं । हल सञ्चालकहरुले एमजी दिन्छन् भने हामी पनि रिक्स उठाउन तयार छौं ।’

उनले बुधवार साँझसम्म चलचित्र चैत २७ मा रिलिज हुने वा नहुने भन्ने कुराको टुंगो लाग्ने बताए । अहिले हल सञ्चालकहरुसँग छलफल भइसकेको उनको भनाई छ । तर, हल व्यवसायीहरु ‘कृष्ण लीला’ निर्माताको कुरा मान्ने पक्षमा छैनन् । हल व्यवसायी तथा वितरकहरुको छाता संस्था नेपाल चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधान चलचित्रलाई एमजी दिन नसकिने बताउँछन् ।

‘कोरोनाले निर्मातालाई मात्र होइन, हल व्यवसायी र वितरकहरुलाई पनि आक्रान्त बनाएको छ । रिक्स निर्माता, हल सञ्चालक र वितरक सबैले लिनुपर्छ । निर्माताहरु बोलीले मात्र रिक्स लिन्छौं भन्नुहुन्छ । रिक्स चाहिँ सबै हामीले लिनुपर्ने रे,’ उनी भन्छन्, ‘बरु, प्रतिशतमा हो भने हामी १०/१५ प्रतिशत बढाएर दिन्छौं । तर, फिक्समा चाहिँ हल सञ्चालकहरुले पनि चलचित्र चलाउन सक्दैनन् ।’

कोरोना महामारीको समयमा फिक्समा लिएर चलचित्र चलाउन पनि समस्या रहेको उनको भनाई छ । उनी अगाडि भन्छन्, ‘दर्शक हलमा आउँछन् कि आउँदैनन् ठेगान छैन । भारतमा पनि ठूला-ठूला चलचित्र पोस्टपोन्ड भइरहेका छन् । ‘कृष्ण लीला’ डेढ करोडको चलचित्र रे । यो बेला त्यसको ग्यारेन्टी कसरी दिन सकिन्छ र ? बरु, प्रतिशत बढाएर दिन तयार छौं तर फिक्समा चलाउन सक्दैनौं ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu