‘कठपुतली’ ले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउनेछ : कर्मा



हरेक प्रकारका चरित्रमा जीवन्त अभिनय गर्ने नायकको रुपमा परिचित कर्माले पहिलो पटक हरर जनरामा अभिनय गरेको चलचित्र ‘कठपुतली’ यही पुष १६ गतेबाट प्रदर्शनमा आउँदैछ । यसअघि सस्पेन्स-थ्रिलर चलचित्रमा काम गरेता पनि पहिलो पटक हरर चलचित्रमा काम गर्दा बेग्लै अनुभव भएको उनी बताउँछन् । हरर जनरामा यो चलचित्र हलिउड स्तरको बनेको उनको दाबी छ ।

कर्मा भन्छन्, ‘हामीले राजाको शासन कालमा महिलामाथि हुने शोषणको कथालाई गहिराइमा गएर प्रस्तुत गर्ने प्रयास गरेका छौं । नेपालको हरर चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा पनि पुर्‍याउनु पर्छ भने हामीले चलचित्रमा त्यही अनुरुप काम गरेका छौं ।’ चलचित्रको पोस्ट प्रोडक्सनको सम्पूर्ण काम लण्डनमा भएकाले टेक्निकल हिसाबले ‘कठपुतली’ अब्बल बनेको उनको विश्वास छ ।

‘कठपुतली’ को ट्रेलरलाई यूट्युबमा दर्शकबाट सकारात्मक प्रतिक्रिया मिलेको छ । तर, ट्रेलरमा तर्साउने सिन नभएको भन्ने प्रतिक्रिया पनि आएका छन् । यस विषयमा कर्मा भन्छन्, ‘कमेडी चलचित्र छ भने ट्रेलरले हँसाउनै पर्छ, हरर चलचित्र हो भने ट्रेलरले तर्साउनु पर्छ भन्ने सोच नेपाली दर्शकमा छ । तर, हामीले ट्रेलर मात्र सार्वजनिक गरेका हौं । चलचित्रमा तर्साउने दृश्यहरु पर्याप्त छन् ।’

कर्माले यो चलचित्रमा नायिका उषा रजकसँग काम गरेका छन् । उनीहरुबीच यो पहिलो सहकार्य हो । तर, उनीहरुबीच चिनजान भने रंगमञ्चको बेलादेखि थियो । पहिलो पटक उषासँग काम गर्न पाउँदा खुसी लागेको कर्मा बताउँछन् । ‘म उषाको फ्यान नै हुँ । उसको ‘कथा’ भन्ने चलचित्र मलाई मन परेको थियो । उसमा एकदमै उर्जा र केही गरौं भन्ने अठोटबाट म प्रभावित छु,’ उनी भन्छन् ।

यो चलचित्रमा कर्माका अलावा गौरी मल्ल, मिथिला शर्मा, शिल्पा माष्के, उषा रजक, सुवर्ण थापा, ध्रुव कोइरालाको अभिनय छ । पृथ्वी राना मगरको निर्माण र सम्पदा मल्लको कथा रहेको ‘कठपुतली’ को सह-निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा रहेका छन् । भिमसेन लामाले निर्देशन गरेको यस चलचित्रलाई अष्ट्रेलियाका सिनेमाटोग्राफर जोएल फ्रूमले छायांकन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu