उदय सुब्बाको निर्देशन रहेको चलचित्र ‘आकासे खेती’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । आगामी फागुन २७ गते प्रदर्शन मिति घोषणा गर्दै सार्वजनिक गरिएको दुईवटा पोस्टरमा चलचित्रका कलाकारहरु गौरव पहारी, विल्सन विक्रम राई ‘तक्मे बुढा’, बुद्धि तामाङ ‘हैट’, नीता ढुङ्गाना, रविन्द्र झा, शिशिर वाङ्देल फिचर छन् ।

युवाहरुको विना मेहनत पैसा कमाउने सपना र तिब्वतियन शरणार्थीको विषय बनेको चलचित्रमा रमा लिब्बु र जयनन्द लामाको पनि मुख्य भूमिका छ । केदार उप्रेती, जीवन सुब्बा, राजेन्द्र चोङ्वाङ, दीलप्रकाश याक्सो निर्माता रहेको चलचित्रको कथा निर्देशक आफैंले तयार पारेका हुन् । चलचित्रको संवाद भने कलाकार विल्सन बिक्रम राई ‘तक्मे बुढा’ ले लेखेका हुन् ।
एसएस इन्टरनेशनल फिल्मस् र तक्मे प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रमा बिक्रम डिसीको छायांकन, सुजन बडालको सम्पादन, राजु किरातीको द्वन्द्व, रामजी लामिछाने र राजिवको नृत्य, विकाश चौधरी र बादल लिब्बुको संगीत छ । चलचित्रलाई युवादेखि बृद्धसम्मको रुचिलाई ध्यानमा राखेर निर्माण गरिएको निर्देशक सुब्बाले बताए । चलचित्र जिजिए ग्रुपले उपत्यका र एफ.डि कम्पनीले उपत्यका बाहिर बितरण गर्नेछ ।