तेलुगू चलचित्र ‘हिटम्यान’ मा आँचल शर्मा



अभिनेत्री आँचल शर्माले साउथ इन्डियन चलचित्रमा डेब्यू गरेकी छन् । उनले नेपालमा छायांकन भएको तेलुगू चलचित्र ‘हिटम्यान’ मा मुख्य भूमिकामा अभिनय गरेकी हुन् । १५ दिनसम्म काठमाडौं र पोखरामा छायांकन भएको चलचित्रमा उनले नेपालीमै संवाद बोलेकी छन् । चलचित्रमा उनको अपोजिटमा नेपाली मुलका तेलुगू कलाकार विष्णु अधिकारीले अभिनय गरेका छन् ।

विष्णु चलचित्रका निर्देशक पनि हुन् । उनले अब चलचित्रको १० प्रतिशत छायांकन बाँकी रहेको र त्यसलाई भारतको हैदराबादमा खिच्ने तयारी भएको जानकारी दिए । उनका अनुसार, नेपालमा चलचित्रको ५० प्रतिशत छायांकन गरिएको छ । उनले नेपालमा खिचिएको भागमा नेपाली भाषामै संवाद समावेश गरिएको र भारतमा खिचिएको भागमा तेलुगू भाषामा संवाद राखिएको बताए ।

उनले भने- ‘चलचित्र नेपाल र भारत दुवै देशमा रिलिज हुनेछ । नेपालमा रिलिजका लागि तेलुगू संवादमा नेपाली सब टाइटल राख्नेछौं भने भारतमा रिलिजका लागि नेपाली संवादको ठाउँमा तेलुगू सब टाइटल राख्नेछौं । ‘हिटम्यान’ को कथा नै नेपाल र भारतसँग जोडिएको छ ।’ चलचित्रमा नेपालको पार्टमा विष्णुको जोडीको रुपमा आँचल देखिनेछिन् भने भारतको पार्टमा अदिती शर्मा छिन् ।

पहिलो पटक तेलुगू चलचित्रमा अभिनय गरेकी आँचलले भाषा बुझ्न गाह्रो भए पनि दुईवटा क्यामेराले खिचिएकाले बारम्बार एउटै दृश्य नपरेको बताएकी छन् । हैदराबादमा हुने चलचित्रको प्रिमियरमा आफू पनि सहभागी हुने उनले जानकारी दिएकी छन् । दीपक अधिकारीले निर्माण गरेको चलचित्रलाई वाईएस शेखरले खिचेका हुन् । चलचित्रलाई आउँदो मार्चमा रिलिज गर्ने विष्णुको योजना छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu