दीवाकर भट्टराईको निर्देशनमा बन्ने नयाँ चलचित्रको घोषणा भएको छ । क्रिसमसको अवसर पारेर शनिवार उनले निर्देशन गर्ने नयाँ चलचित्र ‘हनी बनी’ को घोषणा गरिएको हो । सम्पूर्ण छायांकन यूकेमा हुने चलचित्रका लागि कलाकारहरु भने छनोट भइसकेका छैनन् । अडिसनबाट कलाकार छान्ने तयारीमा निर्माण टिम छ ।
एबी इन्टरनेशलको प्रस्तुती रहने चलचित्रमा गौतम प्रोडक्सन र भ्वाइस फिल्मस् लिमिडेटले सहकार्य गरेका छन् । अमित बस्नेत, अजित केआर थापा र परी राना निर्माता रहेको चलचित्रको कार्यकारी निर्मातामा अंकित गौतम छन् । लभस्टोरी जनरामा बन्ने चलचित्रको लागत ७ करोड अनुमान गरिएको छ ।
निर्माता अमित बस्नेतले पहिलो पटक दीवाकर भट्टराईसँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे । उनले भने- ‘एबी इन्टरनेशलले नियमित रुपमा चलचित्र निर्माण गर्दै आएको छ । हाम्रो उद्देश्य नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउन हो र त्यसै अनुरुप चलचित्र ‘हनी बनी’ निर्माण गर्न लागेका छौं । चलचित्रलाई उत्कृष्ट बनाउन अहिले हामी स्क्रिप्टमा मेहनत गरिरहेका छौं ।’
त्यस्तै, निर्देशक भट्टराईले कोरोना महामारीभन्दा अगाडि नै काम गर्ने सहमति भए पनि कोरोनाका कारण काम अगाडि बढ्न नपाएको बताउँदै अब चाँडै छायांकन सुरु हुने जानकारी दिए । उनका अनुसार, चलचित्र रोमकोम जनरामा बन्नेछ । उनले दुई वर्षअघि घोषणा गरेको आफ्नै प्रोडक्सन हाउसको चलचित्र ‘तिमीसँगै हुने मन छ’ र ‘हनी बनी’ को छायांकन अघिपछि गरेर हुने बताए ।
केही हप्तामा ‘हनी बनी’ का लागि अडिसन आह्वान गरेर कलाकार छनोट गरिने उनले जानकारी दिए । उनका अनुसार, चलचित्रमा अडिसनबाट छानिएका नयाँ अनुहारसँगै नाम चलेका कलाकारहरुको पनि अभिनय रहनेछ । उनी यो चलचित्रलाई लिएर उत्साहित देखिएका छन् ।