‘धौलागिरी चलचित्र महोत्सव’ मा ३५ वटा चलचित्र प्रदर्शन, गोपालचन्द्रदेखि जीवनसम्म सम्मानित



देश तथा विदेशमा बन्जी जम्पिङ र स्विङका लागि प्रख्यात पर्वत जिल्लाको कुश्मामा आयोजित प्रथम ‘धौलागिरी चलचित्र महोत्सव’ सम्पन्न भएको छ । पुषको ७ गतेदेखि १० गतेसम्म कुश्मास्थित सिद्धेश्वर चलचित्र मन्दिरमा भएको महोत्सवमा धौलागिरी क्षेत्र (पर्वत, बाग्लुङ, म्याग्दी र मुस्ताङ) बाट बनेका ३५ वटा चलचित्र प्रदर्शन गरिएको आयोजक संस्था अहुरी इन्टरटेन्मेन्टले जानकारी दिएको छ ।

शनिवार महोत्सवको समापना कार्यक्रममा प्रमुख अतिथीको रुपमा उपस्थित भएकी गण्डकी प्रदेशको प्रदेश सभा सदस्य ललीतकला गुरुङले धौलागिरी क्षेत्रमा राष्ट्रिय स्तरको फिल्म फेस्टिभल हुनु भनेको समग्र गण्डकी प्रदेशकै लागि गर्व र प्रतिष्ठाको कुरा रहेको बताइन् । आगामी दिनमा केन्द्र स्तरसम्म पनि धौलागिरीमा बनेका चलचित्र र चलचित्रकर्मीहरु पुग्ने उनको विश्वास छ ।

चार दिनसम्म चलेको महोत्सवमा धौलागिरी क्षेत्रबाट राष्ट्रिय स्तरमा चलचित्र पत्रकारितामा हासिल गरेको सफलता र योगदानको कदर गर्दै जीवन कुमार पराजुलीलाई पत्रकारिता सम्मान, धौलागिरी क्षेत्रबाटै प्रतिनिधित्व गर्ने निर्देशक गोपालचन्द्र लामिछानेलाई चलचित्र निर्देशक सम्मान र विभिन्न चलचित्रको कथा लेखिसकेका धौलागिरीका अभिनास श्रेष्ठलाई लेखन सम्मान प्रदान गरिएको थियो ।

महोत्सवमा प्रदर्शन भएका सम्पूर्ण चलचित्रको कलाकारदेखि प्राविधिकसम्मलाई प्रशंसा पत्र प्रदान गरिएको थियो । महोत्सव आयोजक संस्था अहुरी इन्टरटेन्मेन्टका अध्यक्ष विशाल लोहनीले पर्वत, बाग्लुङ, म्याग्दी र मुस्ताङलाई एकै ठाउँमा समेट्ने गरी धौलागिरीका कलाकारदेखि निर्माता-निर्देशकसम्म सबैलाई एउटा प्लेटफर्म दिने उद्देश्यले महोत्सवको आयोजना गरेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu