साउथ चलचित्र ‘पुष्पा’ को हिन्दी डब र हलिउड चलचित्र ‘स्पाइडर म्यान : नो वे होम’ को कारण पुष २ गतेबाट पुष १५ मा आएको चलचित्र ‘चपली हाइट ३’ को रिलिज पुनः पोस्टपोन्ड भएको छ । अब चलचित्र दुई साता पछाडि अर्थात् पुष ३० गतेबाट प्रदर्शनमा आउनेछ । आइतवार नेपाल चलचित्र संघमा एक निवेदन दिँदै निर्माता अर्जुन कुमारले चलचित्रको रिलिज सारेको जानकारी दिए ।
गत असोज २१ गतेबाट हलहरु खोल्दै गर्दा नेपाल चलचित्र संघले तीन महिना (पुष २१ गते) सम्म लागू हुने गरी दुई हप्ताको अन्तरमा नेपाली चलचित्र रिलिज गर्ने निर्णय गरेको थियो । तर, पुष १६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘कठपुतली’ भन्दा एक दिन अगाडि ‘चपली हाइट ३’ आउने भएपछि निर्माता कुमारलाई चलचित्रको रिलिज सार्न चौतर्फी दबाब आएको थियो ।

आइतवार नेपाल चलचित्र संघले ‘कठपुतली’ र ‘चपली हाइट ३’ का निर्मातालाई एउटै टेवुलमा राखेर छलफल गराएपछि अर्जुन कुमारले चलचित्रको रिलिज सार्ने निवेदन संघमा बुझाएका हुन् । उनले चलचित्र संघको निर्णयको सम्मान गर्दै आफूले बाध्य भएर चलचित्रको रिलिज सारेको जानकारी दिए । दोस्रो पटक प्रदर्शन मिति सार्दा आफूलाई ठूलो घाटा भएको उनको भनाई छ ।
नेपाल चलचित्र संघले पुष २१ गतेसम्म लागू हुने गरी बनाएको नियम र सुविधा (दुई हप्ताको अन्तरमा नेपाली चलचित्र रिलिज गर्ने, हलमा निःशुल्क ट्रेलर र ब्यानर राख्ने, निर्मातालाई पहिलो हप्ता ५५ प्रतिशत शेयर दिने) आउँदो बैशाख १ गतेसम्मलाई लम्बाएको छ । संघका महासचिव अशोक शर्माले चलचित्रको रिलिज मिति घोषणा गर्दा संघमा निवेदन दिन निर्मातालाई आग्रह गरेका छन् ।