‘कठपुतली’ निर्देशक भन्छन्, ‘हामीले हाम्रो कथा नभन्ने हो भने के भन्ने ?’



सर्ट चलचित्र ‘च्यान्टी’ बाट वाहवाही बटुलेका निर्देशक भिमसेन लामाले पहिलो पटक निर्देशन गरेको फिचर चलचित्र ‘कठपुतली’ यही पुष १६ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । यस चलचित्रको रिलिजका लागि लण्डनबाट नेपाल आएका उनले मंगलवार राजधानीमा आयोजित पत्रकार भेटघाटमा नेपालको अर्गानिक कथालाई विश्वभर चिनाउने उद्देश्यले चलचित्र बनाएका बताए ।

उनी भन्छन्, ‘हाम्रो देशमा जुन कुरा छ त्यो हलिउड र बलिउडमा छैन । अनि, हामीले हाम्रो कथा नभन्ने हो भने के भन्ने ? यो चलचित्र निर्माण गर्नुको उद्देश्य नेपाली कल्चर र भाषालाई संसारमा पुर्‍याउनु र राम्रो चलचित्र बनाउनु थियो । यसमा कति सफल भयौं भन्ने त दर्शकको प्रतिक्रियापछि थाहा हुनेछ ।’ आफू चलचित्रको माध्यमबाट नेपाली भाषा, कला, संस्कृतिलाई प्रमोट गर्न चाहने उनको भनाई छ ।

अभिनेत्री मिथिला शर्मा पनि ‘कठपुतली’ को कथालाई अर्गानिक भन्ने रुचाउँछिन् । उनी भन्छिन्, ‘कठपुतली’ मा हामीले हाम्रै मौलिक कथावस्तु पस्किने प्रयास गरेका छौं । हामीलाई आफ्नै कथावस्तुमा किन चलचित्र बनाउनु हुन्न भनेर धेरैले प्रश्न गर्नुहुन्थ्यो । यसपटक हामीले आफ्नै कथावस्तुमा बनेको चलचित्र लिएर आउन लागेकाले मनमा डरसँगै उत्साह छ ।’

अभिनेत्री उषा रजक भने पहिलो पटक हरर चलचित्रमा काम गर्दा फरक अनुभव बटुलेको बताउँछिन् । करीब ८ वर्षपछि चलचित्रमा फर्किएकी उनले आजसम्म हरर चलचित्र नहेरेको भए पनि हरर चलचित्रमा काम गर्दा रमाइलो लागेको बताइन् । चलचित्रको रिलिज नजिकिँदै गर्दा दशैं-तिहार आएको जस्तै हर्षले मन गदगद भएको बताउँदै उनले चलचित्र मौलिक कथामा बनेको दाबी गरेकी छन् ।

अर्की अभिनेत्री शिल्पा मास्के ‘कठपुतली’ नेपाली चलचित्र क्षेत्रकै लागि नयाँ हुने बताउँछिन् । यो चलचित्रले हरर-थ्रिलर जनराको चलचित्र निर्माणका लागि ढोका खोल्ने उनको विश्वास छ । उनले पनि पहिलो पटक हरर जनराको चलचित्रमा काम गरेकी हुन् । चलचित्रकी लेखिका तथा कार्यकारी निर्माता सम्पदा मल्लले दर्शकलाई कथामा नयाँपन दिने उद्देश्यले नै चलचित्र बनाएको जानकारी दिइन् ।

सम्पदा भन्छिन्, ‘फिचर चलचित्र लेखनमा यो मेरो पहिलो अनुभव हो । हाम्रो यो पहिलो प्रयास भएकाले धेरै त्रुटिहरु हुन सक्छन् । दर्शकको साथ र मायाले त्रुटिलाई सुधार गर्दै अगाडि बढ्ने प्रयास गर्नेछौं । तर, म जनरामा भने फस्दिनँ । मैले भन्ने कथा यूनिक हुनुपर्छ भन्ने लाग्छ । त्यसैले संसारको कुनै पनि ठाउँमा बन्ने चलचित्रसँग मैले लेख्ने कथा मिल्नु हुँदैन भन्नेमा सजग रहने गरेको छु ।’

चलचित्र रिलिजका लागि हङकङबाट नेपाल आएका निर्माता पृथ्वी राना मगरले नेपाली चलचित्रले पनि विदेशमा गएर प्रतिस्पर्धा गर्न सकोस् भन्ने उद्देश्यले ‘कठपुतली’ को निर्माण गरेको जानकारी दिए । उनले भने- ‘चलचित्र २ करोड बढीको लगानीमा बनेको हो । तर, मैले कहिल्यै पैसालाई महत्त्व दिइनँ । नेपाली चलचित्र विदेशमा गएर प्रतिस्पर्धा गर्न सकोस् भन्ने उद्देश्यले चलचित्र बनाएको हुँ ।’

यो चलचित्रमा मिथिला, उषा र शिल्पाका अलावा गौरी मल्ल, कर्मा, सुवर्ण थापा, ध्रुव कोइराला लगायतका कलाकारहरुको अभिनय रहेको छ । अष्ट्रेलियाका सिनेमाटोग्राफर जोएल फ्रूमले खिचेको चलचित्रको सह-निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा छन् । चलचित्रको पहिलो र दोस्रो ट्रेलरले दर्शकबाट सकारात्मक प्रतिक्रिया बटुलेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu