बच्चैदेखि म चलचित्रप्रति पागल हुँ : पृथ्वी राना मगर



‘हंगामा’ र ‘परेनी माया जालैमा’ गरी दुई चलचित्रको निर्माण गरेका पृथ्वी राना मगर लामो समयपछि हङकङमा विभिन्न व्यवसाय गर्दै आएका छन् । व्यवसायका कारण केही वर्ष चलचित्र निर्माणमा सक्रिय हुन नसकेका उनले नयाँ चलचित्र ‘कठपुतली’ लिएर आएका छन् । यो चलचित्र यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । चलचित्रलाई भिमसेन लामाले निर्देशन गरेका हुन् ।

बाल्यकालदेखि नै चलचित्रप्रति रुची भएका निर्माता मगर आफूलाई ‘पागल’ भन्न रुचाउँछन् । ‘कठपुतली’ रिलिजको पूर्व सन्ध्यामा राजधानीमा एक लञ्चमा भेटिएका उनले घर-परिवारदेखि साथी-भाईसम्म सबैले आफूलाई ‘पागल’ भन्ने गरेको बताए । उनी भन्छन्, ‘निर्मातालाई सबैले पागल भन्छन् । ​म पागलै हो त के गर्ने ? चलचित्रप्रति ममा प्यासन छिरेपछि निस्केन । त्यसैले म ‘पागल’ नै हो ।’

आफू बच्चैदेखि चलचित्रप्रति पागल रहेको उनी सुनाउँछन् । उनी विगत सम्झँदै भन्छन्, ‘म ११ वर्षको हुँदा चलचित्र हेर्नका लागि हल खोज्न लखनउमा हराएको थिएँ । म १६ वर्षको हुँदा चलचित्र हेर्नका लागि गाउँबाट भागेको थिएँ । म हराएपछि आमाले मामालाई ‘हलमा गएर बस् त्यसलाई भेट्छस्’ भन्नुभएछ । म चलचित्र हेरेर निस्कँदा मामालाई देखेँ । म चलचित्रप्रति त्यतिसम्म पागल थिएँ ।’

आफू लामो समयदेखि विदेशमा गएर बसेको भए पनि चलचित्रप्रति आफ्नो पागलपन अझै कम नभएको उनको भनाई छ । अघिल्ला दुई चलचित्रबाट डुबेर उठ्ने कोशिश गरेको बताउँदै निर्माता लामाले ‘कठपुतली’ ले राम्रो कमाई गरेको खण्डमा आफूलाई नयाँ चलचित्र बनाउनका लागि हौसला मिल्ने बताएका छन् । तर, चलचित्र नचले पनि ढिलो-चाँडो नयाँ चलचित्र बनाउने उनको योजना छ ।

हरर जनरामा निर्माण भएको यो चलचित्रमा मिथिला शर्मा, उषा रजक, शिल्पा मास्के, गौरी मल्ल, कर्मा, सुवर्ण थापा, ध्रुव कोइराला लगायतका कलाकारहरुको अभिनय रहेको छ । अष्ट्रेलियाका सिनेमाटोग्राफर जोएल फ्रूमले छायांकन गरेको चलचित्रको सह-निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu