‘कठपुतली’ का लागि यूएनडिपीको जागिर छाडेकी उषा



अभिनेत्री उषा रजकले ८ वर्षपछि चलचित्र ‘कठपुतली’ बाट अभिनयमा कमब्याक गरेकी छन् । कुनै बेला ‘इकु, कुसुमे रुमाल २, कथा’ लगायतका चलचित्रमा अभिनय गरेकी उनी रसियन नागरिकसँग विवाह गरेपछि करीब ७ वर्ष किर्गिस्थान बसेकी थिइन् । त्यहीँ रहँदा उनलाई ‘कठपुतली’ बाट अफर आएको थियो । र, स्क्रिप्ट मन परेपछि उनी नेपाल आएकी थिइन् ।

किर्गिस्थानमा बस्दा उनी यूएनडिपीमा काम गर्थिन् । यति सुरक्षित जागिर छाडेर अभिनयमा फर्किनुको कारणबारे उनी भन्छिन्, ‘सन् २०१८ को कुरा हो । म यूएनपिडीमा काम गर्थेँ । त्यतिक्कैमा सम्पदा मल्लले चलचित्र ‘कठपुतली’ को अफर गर्नुभयो । जब मैले स्क्रिप्ट पढेँ, तब मलाई मुक्ति पाएको जस्तो महशुस भयो । अनि, मैले यूएनडिपीको जागिर छाडेर नेपाल आएँ ।’

जमानामा कमर्शियल चलचित्रमा अभिनय गर्दा धेरै चलचित्रबाट अफर आउने गरेको स्मरण गर्दै उनले त्यसबेला आफूले निर्माता/निर्देशकहरुलाई मौलिक कथामा चलचित्र बनाउन आग्रह गर्ने गरेको बताएकी छन् । ‘कठपुतली’ को कथावस्तु आफूले खोजेको जस्तै पाएपछि चलचित्रमा काम गर्नका लागि किर्गिस्थानबाट यूएनडिपीको जागिर छाडेर नेपाल आएको अभिनेत्री उषाको भनाई छ ।

आजसम्म खुल्ला आँखाले हरर चलचित्र नहेरेको बताउने उषा ‘कठपुतली’ मा भने भूत बनेकी छन् । उनी यो चलचित्र पनि आफूले खुल्ला आँखाले हेर्न नसक्ने बताउँछिन् । तर, चलचित्रमा अभिनय गर्दा रमाइलो भएको उनको अनुभव छ । पृथ्वी राना मगर निर्मित तथा भिमसेन लामा निर्देशित चलचित्र यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । चलचित्रमा उषाका अलावा मिथिला शर्मा, गौरी मल्ल, कर्मा लगायतको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu