प्रिमियरमा ‘कठपुतली’ लाई उत्कृष्ट प्रतिक्रिया (फोटो फिचरसहित)



यही शुक्रवारबाट प्रदर्शनमा आउन लागेको हरर चलचित्र ‘कठपुतली’ को बुधवार काठमाडौंको कमलपोखरीस्थित बिग मुभिजमा प्रिमियरमा गरिएको छ । उल्लेख्य संख्यामा उपस्थिति रहेको प्रिमियरमा चलचित्रकर्मी, राजनीतिज्ञसँगै अन्य अतिथीले कलाकारको अभिनय, निर्देशन, स्क्रिनप्ले, छायांकन, साउन्ड डिजाइन, लाइटिङ, फ्रेमिङ र सम्पादनको मक्तकण्ठले प्रशंसा गरेका थिए ।

निर्देशक तथा निर्माता आकाश अधिकारीले चलचित्रको स्क्रिनप्लेको प्रशंसा गरे । चलचित्र हेरेपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले भने- ‘सम्पदा मल्लको लेखन मलाई मन पर्‍यो । समग्रमा भन्दा चलचित्रले बाँधेर राख्छ । नेपाली चलचित्र नचलिरहेको अवस्थामा यो चलचित्रले बाटो खोल्छ भन्नेमा म विश्वस्त छु । अन्तर्राष्ट्रिय स्तरमा पनि यो चलचित्र जान सक्ने सम्भावना देखेको छु ।’

निर्देशक प्रदीप भट्टराईले चलचित्रको टेक्निकल पक्षको प्रशंसामा शब्द खर्चिए । उनले भने- ‘नेपाली चलचित्र हेर्दा नयाँ अनुभव गरियो । टेक्निकली एकदमै रिच छ चलचित्र । साउन्ड, लाइटिङ, प्रोडक्सन, कस्ट्यूम, अभिनयको कुराले चलचित्र बलियो छ । चलचित्र तर्साउन सफल भएको छ । चलचित्रमा महिला सशक्तिकरणको कुरालाई पनि उठाइएको छ, जुन कुरा मलाई मन पर्‍यो ।’

अभिनेत्री तथा निर्मात्री निशा अधिकारीले चलचित्रबाट टेक्निकलका धेरै कुरा सिक्न सकिने बताइन् । इडिटिङ, प्रोडक्सन, लाइटिङ, एक्टिङ र स्टोरीले चलचित्र बलियो बनेको उनको भनाई थियो । पहिलो पटक स्वदेशी भूत हेर्न पाएकोमा उनले खुसी व्यक्त गरिन् । त्यस्तै, निर्देशक तथा चर्चित सञ्चारकर्मी डिनेश डिसीले चलचित्र समग्रमा राम्रो बनेको र टेक्निकल पक्ष बलियो रहेको बताए ।

प्रिमियरमा जाडोलाई चुनौती दिँदै बोल्ड परिहनमा पुगेकी चलचित्रकी मुख्य अभिनेत्री उषा रजकले वर्षौंको मेहनतले यत्तिको प्रोडक्ट बनेको बताउँदै चलचित्र हेर्दा आफू इमोसनल भएको बताइन् । उनले भनिन्, ‘चलचित्रको छायांकन भइरहँँदा मेरो छोरी ९ वर्षकी थिइन् । उनलाई आफन्तकोमा छोडेर पाल्पा जाँदाको सम्झना चलचित्र हेर्दा झलझली आयो । म आफैंलाई भने चलचित्र राम्रो लाग्यो ।’

अभिनेत्री द्वय गौरी मल्ल र शिल्पा मास्केले चलचित्रमा आफ्नो भूमिकाबाट सन्तुष्ट रहेको बताएका थिए । जितु नेपालले उद्घोषण गरेको प्रिमियर शोमा राजनीतिज्ञ रविन्द्र मिश्र, राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसी, नाट्यकर्मी अशेष मल्ल, पत्रकार टिकाराम यात्री, गायकद्वय सत्य-स्वरुप, कलाकार सन्दिप क्षेत्री, निर्देशक सुदर्शन थापा, लेखक प्रदीप भारद्वाज, नायिका बेनिशा हमाल, नायक निराजन प्रधान, निर्माता अर्जुन कुमार लगायतको पनि उपस्थिति रहेको थियो ।

चलचित्र मिथिला शर्मा, कर्मा र उषाको वरिपरी घुमेको छ । पिताको गलत निर्णयले ढल्ने अवस्थामा पुगेको राजतन्त्रलाई जोगाउन दरबार छाडेर निस्किएको राजकुमारको जीवनमा आउने विभिन्न घटनाक्रमलाई चलचित्रमा देखाइएको छ । चलचित्रमा मिथिला शर्माको अभिनय बुलन्द छ । कर्मा र उषाले पनि जीवन्त अभिनय गरेका छन् । त्यस्तै, गौरी मल्ल र शिल्पा मास्केले पनि चलचित्रमा आफ्नो प्रभाव छाडेका छन् ।

चलचित्रको अर्को सबैभन्दा बलियो पक्ष भनेको ब्याकग्राउन्ड स्कोर हो । स्तरीय ब्याकग्राउन्ड स्कोरले चलचित्रमा प्राण भरेको छ । अष्ट्रेलियाका छायाँकार जोएल फ्रूमको छायांकन पनि प्रशंसायोग्य छ । त्यस्तै, लाइटिङ, फ्रेमिङ र इडिटिङले चलचित्रको कथालाई मर्न दिएको छैन । पहिलो पटक फिचर चलचित्रको निर्देशन गरेका भिमसेन लामाले आफ्नो निर्देशकिय क्षमता प्रस्तुत गरेका छन् ।

सुवर्ण थापा, ध्रुव कोइरालाको पनि अभिनय रहेको चलचित्रलाई पृथ्वी राना मगरले निर्माण गरेका हुन् । चलचित्रको सह-निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा छन् । शुक्रवारबाट प्रदर्शनमा आउन लागेको चलचित्रलाई बुधवार साँझबाटै काठमाडौं र मोफसलका मल्टीप्लेक्सहरुले शोज उपलब्ध गराइसकेका छन् । दुइवटा ट्रेलरले चलचित्रको एक खालको हाइप बनाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu