शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र ‘कठपुतली’ ले दर्शकको राम्रो साथ पाएको छ । प्रदर्शनको पहिलो दिन राजधानीका मल्टीप्लेक्सहरुमा चलचित्रले ८० प्रतिशतको आसपास अकुपेन्सी कायम गरेको वितरक कम्पनीले जानकारी दिएको छ । शुक्रवारको ओपनिङ सुखद भएपछि काठमाडौंका मल्टीप्लेक्सहरुले शनिवारका लागि चलचित्रको शोजमा पनि भारी वृद्धि गरेका छन् ।
नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले शुक्रवारका लागि १४ शो दिएको थियो । शुक्रवारको व्यापार राम्रो भएपछि शनिवारका लागि २२ शो उपलब्ध गराएको छ । साँझसम्म अरु शो बढ्ने सम्भावना देखिएको छ । राजधानीका अन्य मल्टीप्लेक्सहरुले पनि शनिवारलाई शो बढाएका छन् । सिंगल थिएटरमा पनि चलचित्र हेर्ने दर्शकको उपस्थिति सुखद रहेको जानकारी प्राप्त छ ।

शुक्रवार राजधानीका विभिन्न हलमा पुग्दा चलचित्र हेरेका दर्शकहरुले उत्कृष्ट प्रतिक्रिया दिएका थिए । पहिलो पटक स्तरीय नेपाली हरर चलचित्र हेर्न पाएको बताउँदै दर्शकहरुले कलाकारहरुको अभिनय, कथावस्तु, निर्देशन, छायांकन, ब्याकग्राउन्ड स्कोर लगायतको प्रशंसा गरेका थिए । हलमा विशेषगरी तन्नेरी पुस्ताका दर्शकहरुको उपस्थिति बाक्लो देखिएको थियो ।
निर्माता पृथ्वी राना मगरले चिसोको प्रवाह नगरी चलचित्र हेर्न विहानैदेखि हलमा दर्शकको उत्साहजनक उपस्थिति भएको देख्दा खुसी लागेको बताए । उनले भने- ‘चलचित्र राम्रो बनेको छ भने दर्शकको साथ पाइन्छ भन्नेमा म विश्वस्त थिएँ । ‘कठपुतली’ ले यो कुरा प्रमाणित गरेको छ । माउथ पब्लिसिटी अत्यन्त बलियो भएकाले शनिवारबाट दर्शकको चाप झन् बढ्नेमा म विश्वस्त छु ।’
भिमसेन लामाले निर्देशन गरेको चलचित्रमा मिथिला शर्मा, गौरी मल्ल, कर्मा, उषा रजक, शिल्पा मास्के, सुवर्ण थापा, ध्रुव कोइराला लगायतको मुख्य भूमिका रहेको छ । अष्ट्रेलियाका छायाँकार जोएल फ्रूम खिचेको चलचित्रको सह-निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा छन् । सम्पदा मल्लले लेखेको चलचित्रले राजाहरुको शासन कालको कथा भन्छ । चलचित्र हरर जनरामा बनेको हो ।


