अभिनेता दयाहाङ राईले चलचित्र ‘गाउँ आएको बाटो’ को छायांकन सुरु गरेका छन् । भोजपुरमा छायांकन भइरहेको चलचित्र सेटबाट निर्माण टिमले उनको लुक्स सार्वजनिक गरेको छ । तस्विरमा उनको शिरमा ढाका टोपी, घाँटीमा गलबन्दी र खुट्टामा गोल्डस्टार सूज देख्न सकिन्छ भने पृष्ठभूमिमा खरले छाएको घर देखिएको छ । उनको छेउमा नायिका पशुपति राई र एक बाल कलाकार छन् ।

निर्माण टिमले चलचित्रको कथासारको बारेमा पनि जानकारी दिँदै क्याप्सनमा लेखेको छ, ‘सडक आएपछिको एक परिवारको कथा । माइला, माइली अनि बिन्द्रेको कथा ।’ दश वर्षपछि निर्देशनमा फर्किएका नविन सुब्बा निर्देशित यस चलचित्रमा खानुमा राई, केशव राई, प्रमिशा राई, प्रेम सुब्बा लगायत पनि मुख्य भूमिकामा छन् । मार्किन कापरोनले चलचित्रको छायांकन गरिरहेका छन् ।
महेश राई र नविन सुब्बाको स्क्रिप्ट रहेको चलचित्रको निर्मातामा अमोद राई रहेका छन् । त्यस्तै, कार्यकारी निर्मातामा नेपालबाट सञ्जु राई, हङकङबाट देवराज राई, यूकेबाट नरहाङ राई र अमेरिकाबाट भीम राई रहेका छन् । हङकङ, मकाउ, नेपाल, यूके, अमेरिका, बेल्जियम, साउथ कोरिया, नेदरल्यान्ड, पोर्चुगल र जर्मनी निवासी व्यक्तिहरु चलचित्रको सह-निर्मातामा रहेका छन् ।