
काठमाडौं – रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको नयाँ कमेडी चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’को औपचारिक रूपमा घोषणा गरिएको छ। सूर्यविनायक गणेश मन्दिरमा स्क्रिप्ट पूजा गर्दै यस चलचित्रको विधिवत् शुभारम्भ गरिएको हो। लेखक तथा निर्देशक अमरदीप सापकोटाको लेखन एवं निर्देशन रहने यस चलचित्रको छायांकन यसै असार महिनाको अन्तिम साताबाट सुरु गर्ने तयारी निर्माण पक्षले गरेको छ।
यस चलचित्रमार्फत सांगीतिक क्षेत्रमा स्थापित दुई चर्चित अनुहारले अभिनयमा डेब्यु गर्दैछन्। लोकप्रिय गायक पशुपति शर्माले यसै सिनेमाबाट आफ्नो अभिनय यात्रा सुरु गर्ने पक्का भएको छ। त्यसैगरी, चर्चित गायिका अञ्जु पन्तकी छोरी परितोषिका पन्तले पनि ‘तीन तीघ्रे क्या बिग्रे’ मार्फत नै रजतपटमा पाइला राख्दैछिन्। निर्माण टोलीका अनुसार चलचित्रमा अन्य केही नयाँ तथा प्रतिभावान कलाकारहरूको पनि डेब्यु रहनेछ, तर हाललाई उनीहरूको नाम गोप्य राखिएको छ।
निर्देशक सापकोटाले यो चलचित्र पूर्ण रूपमा कमेडी जनरामा निर्माण हुने र यसले दर्शकलाई विशुद्ध मनोरञ्जनको प्याकेज प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्। हाल चलचित्रको प्रि–प्रोडक्सनको काम तीव्र गतिमा अघि बढिरहेको छ। निर्माता रघुनाथ सापकोटाका अनुसार, रघुजी फिल्म्सले यसअघि घोषणा गरेका केही प्रोजेक्टहरू प्राविधिक कारणवश केही समयका लागि पछाडि सरेकाले अहिले यस चलचित्रलाई उच्च प्राथमिकतामा राखेर अघि बढाइएको हो। रोकिएका अन्य प्रोजेक्टहरूलाई पनि क्रमशः निर्माण प्रक्रियामा लगिने उनले जानकारी दिएका छन्।
चलचित्रको नेपालभरको वितरण सम्हाल्ने आधिकारिक जिम्मेवारी आरआर फिल्म्सले पाएको छ भने यसको डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरिसकेको छ।

