‘कठपुतली’ : नेपाली चलचित्र क्षेत्रका लागि सञ्जीवनी बुटी



कोरोना महामारीपछि केही नेपाली चलचित्र प्रदर्शनमा आए । तर, कुनै चलचित्रले हलमा दर्शकको उत्साहजनक साथ पाउन सकेका थिएनन् । बरु, विदेशी चलचित्र हेर्न हलमा दर्शक ओहिरिए । यही शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र ‘कठपुतली’ ले भने आशा जगाएको छ । शुक्रवार र शनिवार राजधानी र मोफसलका अधिकांश मल्टीप्लेक्सहरुमा चलचित्रले हाउसफुल व्यापार गरेको थियो ।

शुक्रवार चलचित्रको व्यापार सुखद भएपछि नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले शनिवारका लागि १४ वटा २२ शो पुर्‍याएको थियो । त्यसमध्ये अधिकांश शोमा चलचित्रको अकुपेन्सी शतप्रतिशत रहेको वितरक कम्पनीले जानकारी दिएको छ । अन्य मल्टीप्लेक्ससँगै देशभरका सिंगल थिएटरमा पनि चलचित्र हेर्ने दर्शकको चाप उच्च देखिएको थियो ।

चलचित्रप्रति दर्शकको आकर्षण देखेर चलचित्रकर्मीहरुले सामाजिक सञ्जालको माध्यमबाट खुसी व्यक्त गरेका छन् । हुन पनि, नेपाली चलचित्रले लामो समयदेखि दर्शकको साथ पाउन नसकिरहेको अवस्थामा ‘कठपुतली’ ले नयाँ आशाको किरण छरेको छ । माउथ पब्लिसिटी बलियो भएकाले चलचित्र बक्सअफिसमा लामो रेसको घोडा बन्ने धेरैको विश्वास छ । यो चलचित्र नेपाली चलचित्र क्षेत्रका लागि सञ्जीवनी बुटी सावित हुने आँकलन गरिएको छ ।

निर्माता पृथ्वी राना मगरले दर्शकबाट प्राप्त सकारात्मक प्रतिक्रिया र हाउसफुल व्यापारले उत्साह थपेको बताए । भिमसेन लामा निर्देशित चलचित्रमा मिथिला शर्मा, गौरी मल्ल, कर्मा, उषा रजक, शिल्पा मास्के, सुवर्ण थापा, ध्रुव कोइरालाको मुख्य भूमिका छ । जोएल फ्रूमले खिचेका चलचित्रको सह-निर्माताहरुमा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा छन् । हरर जनरामा चलचित्र निर्माण भएको हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu