कलाकार पुष्कर भट्ट : हिन्दी गीतपछि अमेजनका लागि वेब सिरिजको निर्देशन



एक सयभन्दा बढी नेपाली चलचित्रमा खलपात्रको भूमिकामा अभिनय गरेका पुष्कर भट्टले निर्देशनमा फड्को मारेका छन् । उनी निर्देशित पहिलो हिन्दी गीत ‘जिल्ला मुरादाबाद’ को म्यूजिक भिडियो अंग्रेजी नयाँ वर्षको अवसर पारेर सार्वजनिक भएको छ । गायक प्रिन्स आनन्दको स्वर र शब्द रहेको गीतमा द किंगले संगीत भरेका छन् । भिडियोको सुरुवातमा चलचित्रको झैं कथा बुनिएको छ । राजनीतिक दाउपेचको कथा उठाइएको भिडियोमा पुष्कर आफैं भिलेनको भूमिकामा देखिएका छन् ।

म्यूजिक भिडियोमा उनीसँगै भारतीय मुलका कलाकारहरु सुखविंदर सिंह जसल, जगदीप बावा, परम हंस, गुलकरण सिंह र सलमान काजमीको पनि अभिनय छ । यूट्युब रिलिजको दुई दिनमा दुई लाख बढी भ्यूज बटुलेको गीतलाई दर्शकबाट सकारात्मक प्रतिक्रिया मिलेको छ । पहिलो निर्देशित म्यूजिक भिडियोलाई मिलेको प्रतिक्रियाबाट आफू निकै उत्साहित भएको पुष्करले बताए ।

गीतलाई दर्शकले रुचाएपछि पुष्करसहितको टिमले म्यूजिक भिडियोमा उठान गरेको कथामाथि वेब सिरिज बनाएको छ । ओटीटी प्लेटफर्म अमेजन प्राइममा रिलिज गर्ने उद्देश्यसहित निर्माण गरिएको वेब सिरिजलाई पुष्कर स्वयंले निर्देशन गरेका छन् भने मुख्य भिलेनको भूमिकामा उनी आफैं प्रस्तुत भएका छन् । ५ श्रृंखलाको वेब सिरिज बनाउन ठूलो खर्च भएको उनले जानकारी दिए ।

वेब सिरिजको बारेमा जानकारी दिँदै पुष्करले भनेका छन्, ‘म्यूजिक भिडियोमा मैले जुन कथा उठाएको छु, त्यसैमाथि वेब सिरिज बनाएका छौं । केही दिन अगाडि मात्र वेब सिरिजको ५ वटा भाग क्यानडामा छायांकन भएको छ । अब त्यसको सम्पादन कार्य सकेर अमेजन प्राइमलाई पठाउने तयारीमा छौं । अमेजनले मन पराएको खण्डमा वेब सिरिजको अन्य श्रृंखलाहरु पनि बन्नेछ ।’

‘जिल्ला मुरादाबाद’ गीतका गायक प्रिन्स आनन्दले नै वेब सिरिजको निर्माणसँगै मुख्य भूमिकामा अभिनय गरेका छन् । क्यानडामा व्यापार व्यवसायको क्षेत्रमा ठूलो साम्राज्य बनाएका उनले नेपाली कलाकारसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरे । उनले भने- ‘पुष्कर जीसँग म्यूजिक भिडियोपछि वेब सिरिजमा सहकार्य गर्न पाएँ । भविष्यमा उहाँसँग अरु कार्यहरुमा पनि सहकार्य हुनेछ ।’

कलाकार भट्ट सन् २०२० मा संसारकै महंगो गाडीमा पर्ने ‘लङम्यान्स् किया’ मोटरको क्यानडा ब्रान्ड एम्बास्डरमा नियुक्त भएका थिए । नेपाली कलाकारको यो सफलता देखेर प्रिन्स आनन्दले आफ्नो टेलिभिजन ‘विएम प्राइम’ मा उनलाई अन्तर्वार्ताका लागि बोलाएका थिए । त्यसै क्रममा उनीहरुबीच चिनजान भएको थियो । प्रिन्स आनन्दसँग सहकार्य गर्न पाएकोमा पुष्कर खुसी छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu