अनमोललाई मन पर्‍यो ‘कठपुतली’, दोहोर्‍याएर हेरे



युवास्टार अनमोल केसी चलचित्र छनोटमा मात्र चुजी छैनन्, हलमा गएर चलचित्र हेर्ने मामलामा पनि चुजी मानिन्छन् । लकडाउन अवधिभर घरमै बसेर विभिन्न ओटीटी प्लेटफर्ममा चलचित्र हेरेका उनले राम्रो चर्चा बटुलेका र समीक्षात्मक रुपमा प्रशंसा कमाएका नेपाली चलचित्र भने हलमै गएर हेर्ने गरेका छन् । तर, उनी हलमा गएर चलचित्र हेरेको जानकारी स्वयं चलचित्रको निर्माण टिमलाई समेत हुँदैन ।

गत शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र ‘कठपुतली’ पनि उनले हलमै गएर हेरेका छन् । आइतवार राजधानीको एक हलमा आफ्ना केही नजिकका साथीसँग गएर उनले चलचित्र हेरेका थिए । चलचित्र हेरेपछि उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा ‘उत्कृष्ट चलचित्र’ भन्दै तारिफ गरेका थिए । बुधवार उनले फेरि एकपटक पिता भुवन केसीको साथमा चलचित्र हेरेको जानकारी प्राप्त छ ।

अनमोलले आफू अभिनीत चलचित्र नै दोहोर्‍याएर हेरेको रेकर्ड छैन । उनले अरु नेपाली चलचित्र पनि दोस्रो पटक हलमा नै गएर नहेरेको अनमोल निकट स्रोतले जानकारी दिएको छ । उनलाई ‘कठपुतली’ को कथावस्तु, प्रस्तुती, कलाकारको अभिनय र ब्याकग्राउन्ड स्कोर उत्कृष्ट लागेको बताइएको छ । उनका पिता तथा सुपरस्टार भुवन केसीलाई पनि चलचित्र निकै मन परेको छ ।

‘माउथ पब्लिसिटी’ राम्रो रहेको चलचित्रलाई अन्य फिल्मकर्मीहरुले पनि साथ दिएका छन् । बुधवार अभिनेत्री मिरुना मगरसहितको टोलीले नयाँ बानेश्वरस्थित वान सिनेमाज्मा गएर चलचित्र हेरेको थियो । मिरुनाले ‘चलचित्र उत्कृष्ट’ बनेको भन्दै सोसल मिडियाबाट सम्पूर्ण टिमलाई बधाई दिएकी छन् । दर्शक र चलचित्रकर्मीहरुबाट मिलेको साथ र सहयोगले निर्माण टिम प्रफुलित देखिएको छ ।

पृथ्वी राना मगर निर्मित तथा भिमसेन लामा निर्देशित चलचित्रमा मिथिला शर्मा, गौरी मल्ल, कर्मा, उषा रजक, शिल्पा मास्के, सुवर्ण थापा, ध्रुव कोइराला लगायतको अभिनय रहेको छ । जोएल फ्रूमले खिचेका चलचित्रका निर्माता पृथ्वी रानामगर हुन भने सह-निर्माताहरुमा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा छन् । हरर जनरामा निर्माण भएको चलचित्रको कथा सम्पदा मल्लले लेखेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu