तेलुगूमा नेपाललाई चिनाउन सके गर्व हुनेछ : आँचल शर्मा



अभिनेत्री आँचल शर्माले पहिलो पटक तेलुगू चलचित्रमा अभिनय गरेकी छन् । नेपाली मुलका कलाकार विष्णु अधिकारीको अभिनय र निर्देशनमा तयार भएको तेलुगू भाषाको चलचित्र ‘हिटम्यान’ मा उनले मुख्य भूमिकामा अभिनय गरेकी हुन् । चलचित्रको नेपालमा ४० प्रतिशत छायांकन भएको बताइएको छ । नेपालको भागमा आँचलले नेपाली नै संवाद बोलेकी छन् ।

बिहीवार राजधानीमा आयोजित टिजर सार्वजनिक कार्यक्रममा आँचलले पहिलो पटक विदेशी चलचित्रमा काम गर्दा नौलो अनुभव भएको बताइन् । उनले भनिन्, ‘मलाई विष्णुजीले आधा घन्टामै मेरो चरित्रदेखि स्क्रिप्ट बुझाउनुभएको थियो । मलाई उहाँले निर्देशक र कलाकार दुवै हिसाबले स्क्रिप्ट भन्नुभएको थियो । उहाँको स्क्रिप्ट भनाई र लगनशिलता देखेरै मैले काम गर्न ‘ओके’ भनेको थिएँ ।

तेलुगूमा नेपाललाई चिनाउन सके त्यो नै गर्वको कुरा हुने आँचल बताउँछिन् । नेपालभन्दा तेलुगू चलचित्रमा काम गर्ने शैली फरक रहेको उनको अनुभव छ । ‘म चलचित्रमा नेपालको पार्टमा मात्र छु । तर, मलाई भूमिका मन परेपछि काम गर्न तयार भएको थिएँ । कलाकार भएपछि एउटै भाषाको चलचित्र मात्र गर्नुपर्छ भन्ने हुँदैन । ‘हिटम्यान’ मा काम गर्दा धेरै सिक्ने अवसर पाएँ,’ उनले भनिन् ।

‘हिटम्यान’ का निर्देशक अधिकारीले आँचल शर्मालाई भेट्नु अघि र भेटेपछिको आफ्नो धारणा फरक रहेको बताए । उनले भने, ‘आँचलजीलाई भेट्नुभन्दा अगाडि घमन्डी हुनुहुन्छ रे भन्ने सुनेको थिएँ । यसकारण पनि उहाँलाई भेट्नुभन्दा अगाडि मेरो धारणा फरक थियो । तर, आँचलजीलाई भेटेपछि मैले सुनेका कुराहरु सबै गलत रहेछन् । उहाँ मेहनती र कामप्रति इमान्दार हुनुहुन्छ ।’

चलचित्रका लागि अरु केही अभिनेत्रीहरुसँग पनि कुराकानी भएको बताउँदै विष्णुले आँचल शर्माको फेस तेलुगूमा पनि सुहाउने भएरै अनुबन्ध गरेको बताए । उनी आँचलको कामबाट आफू प्रभावित भएको बताउँछन् । प्रशान्त ताम्राकार, मिलन सिजापति र अदिति शर्मा लगायतको अभिनय रहेको चलचित्रलाई मार्च महिनासम्म भारत र नेपाल दुवै देशमा रिलिज गर्ने निर्माण टिमको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu