चलचित्र ‘लभ लभ लभ’ का नायक सुरज पाण्डेले निर्देशनमा डेब्यू गर्ने भएका छन् । उनले निर्देशन गर्ने पहिलो चलचित्र ‘परस्त्री’ को शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच निर्माण घोषणा गरियो । चलचित्रमा अभिनेता कोशिश क्षेत्रीको मुख्य भूमिका रहनेछ । चलचित्रको घोषणा सभामा उनी भिन्न गेटअपमा देखिएका थिए । यस चलचित्रको निर्माण शर्मिला पाण्डेले गर्नेछिन् ।
एक विवाहित पुरुषको अफेयरको कथामा निर्माण हुने चलचित्रको कथा दीपेन्द्र के. खनालले लेखेका हुन् । नेपाली र हिन्दी गरी दुई भाषामा बन्ने चलचित्रका लागि नायिकासहित अन्य कलाकार अडिसनबाट छनोट गरिने निर्देशक पाण्डेले बताए । २२ देखि २७ वर्षभित्रका अभिनेता, २२ देखि ३० वर्षभित्रकी अभिनेत्री र २० देखि २५ वर्षभित्रका अन्य अभिनेत्री अडिसनमार्फत् छानिने छन् ।

फागुन तेस्रो साताबाट छायांकन सुरु हुने चलचित्रलाई निरज कँडेलले खिच्नेछन् । चलचित्रमा दीर्घ खड्काको सम्पादन रहनेछ भने गीतमा नायक कोशिश क्षेत्री स्वयंले संगीत भर्नेछन् । चलचित्रमा सम्पूर्ण छायांकन काठमाडौंमा हुनेछ । निर्देशक पान्डेले नेपालमा अहिलेसम्म नबनेको कथावस्तुमा ‘परस्त्री’ बन्ने दाबी गरे । उनले अब निर्देशकको रुपमा आफूलाई अगाडि बढाउने पनि बताए ।
‘पशुपति प्रसाद, आमा’ जस्ता समीक्षात्मक रुपमा सफल ठहरिएका चलचित्रको निर्देशन गरिसकेका दीपेन्द्रले ‘परस्त्री’ को कथा पूर्ण नेपाली परिवेशमा तयार पारेको बताउँदै विदेशी चलचित्रबाट प्रभावित नरहेको दाबी गरे । सुरजलाई निर्देशनमा आफ्नो तर्फबाट कुनै हस्तक्षेप नरहने पनि उनको भनाई छ । चलचित्रलाई जिजिए ग्रुपले काठमाडौंभित्र र एफडी कम्पनीले मोफसलमा वितरण गर्नेछ ।