अन्तर्राष्ट्रिय कम्पनी ‘ब्लूचिप’ नेपाली चलचित्र बनाउन तयार



‘सूर्यवंशी’, ‘८३’ जस्ता कयौं बलिउड तथा साउथ चलचित्रमा फाइनान्स गरेको अन्तर्राष्ट्रिय कम्पनी ‘ब्लूचिप इन्भेष्टमेन्ट’ ले नेपाली चलचित्र बनाउन पनि इच्छा व्यक्त गरेको छ । शनिवार राजधानीमा हुन गइरहेको ‘नेपाल मिडिया अवार्ड’ मा सहभागी हुन बिहीवार साँझ दुबईबाट काठमाडौं आइपुगेको ‘ब्लूचिप’ को टिमले नेपाली फिल्ममा लगानी गर्न इच्छा देखाएको हो ।

‘ब्लुचिप’ का सिइओ रविन्दरनाथ सोनीले सञ्चारकर्मीसँग भने- ‘बलिउडमा हामीले धेरै काम गरेका छौं । ‘सूर्यवंशी, ८३’ लगायतका चलचित्रलाई ‘ब्लूचिप’ ले फाइनान्स गरेको छ । अब राम्रो विषयमा हामी नेपाली चलचित्र बनाउन इच्छुक छौं । नेपाल बसाईको क्रममा चलचित्रसँगै अन्य व्यवसायमा सहकार्य गर्ने विषयमा छलफल गर्नेछौं ।’ उनले आफूले नेपाली चलचित्र ‘ऐश्वर्या’ हेरेको पनि स्मरण गरे ।

नेपाल र भारतको संस्कृति मिल्दोजुल्दो भएकाले नेपालको संस्कृतिलाई प्रवद्र्धन गर्न ‘ब्लूचिप’ तयार रहेको उनको भनाई छ । निर्माता पुनम यादवको मार्गनिर्देशनमा आफूहरु अगाडि बढ्ने बताउँदै उनले आफूलाई नेपाल आफ्नै देश लाग्ने गरेको बताए । ‘म पहिलो पटक नेपाल आएको हुँ । गौतम बुद्धको देशमा आउन पाउँदा मलाई आफ्नै देशमा आएको महशुस भइरहेको छ,’ सिइओ सोनीले भने ।

दुबईमा रियल स्टेट, फोरेक्स, गोल्ड, करेन्सी लगायतका विभिन्न क्षेत्रमा ठूलो लगानी गरेको ‘ब्लुचिप इन्भेष्मेन्ट कम्पनी’ का सिइओ रविन्दरनाथ सोनीसँगै अपरेसन हेड गुरमीत कौर, सेल्स एन्ड मार्केटिङ हेड सुरज जुमानी, डा. प्रिति गिरी लगायतको टिम नेपाल आएको हो । पुनम यादव निर्माता रहेको ‘नेपाल मिडिया अवार्ड’ मा ‘ब्लुचिप’ कम्पनी सह प्रायोजकको रुपमा जोडिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu