अर्जुन कुमार भन्छन्, ‘अब ‘चपली हाइट ३’ को रिलिज सर्दैन’



कोरोना संक्रमणको तेस्रो लहर रोकथामका लागि कोभिड व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले पुष ७ गतेबाट हलमा जाँदा कोभिड खोप लगाएको कार्ड अनिवार्य चाहिने निर्णय गरेपछि यही पुष ३० गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘चपली हाइट ३’ फेरि पोस्टपोन्ड हुनसक्ने कतिपयको अनुमान छ । तर, निर्माता अर्जुन कुमार अब कुनै हालतमा चलचित्रको रिलिज नसर्ने बताउँछन् ।

सरकारले हल नै बन्द गरे मात्र चलचित्रको रिलिज रोकिने उनको दाबी छ । उनले भने- ‘दोस्रो हप्तामा खोप कार्ड देखाउनु पर्ने नियमले चलचित्रको व्यापारमा केही असर पर्न सक्छ । तर, यसका कारण हलमा दर्शकहरु आउनुहुन्न भन्ने म मान्दिनँ । म आफैं दर्शकहरुलाई कार्ड बोकेर चलचित्र हेर्न आउनुस् भन्छु । किनकि, स्वास्थ्यभन्दा ठूलो कुरा केही छैन ।’

अन्य ठाउँभन्दा सिनेमा हल धेरै सुरक्षित भएकाले ढुक्कसँग चलचित्र हेर्न आउन उनी दर्शकहरुलाई आग्रह गर्छन् । ‘हलको गेटमै सेनिटाइजरको व्यवस्था हुन्छ । चलचित्रको शो सकिएपछि हरेक पटक हललाई सेनिटाइज गरिन्छ । सामाजिक दूरीमा कायम गर्न लगाइन्छ । अरु ठाउँभन्दा हल धेरै नै सुरक्षित छ । त्यसैले केही डर नमानी ढुक्क भएर चलचित्र हेर्न आउँदा हुन्छ,’ अर्जुनले भने ।

निकेश खड्काको निर्देशन रहेको चलचित्रमा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी, अर्पण थापा, प्रतिकमान श्रेष्ठ, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जीवन भट्टराई, सुष्मा निरौला लगायतको अभिनय छ । सुभाष भुषाल र अर्जुन कुमारको संगीत, पुरुषोत्तम प्रधानको छायांकन रहेको चलचित्रको कथा तथा संवाद आकाश बरालले लेखेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu