म्यूजिक भिडियो निर्देशनमा सफल मानिएका निकेश खड्काले ‘जिन्दगी रक्स’ र ‘फाटेको जुत्ता’ चलचित्रको निर्देशन गरिसकेका छन् । उनी निर्देशित तेस्रो चलचित्र ‘चपली हाइट ३’ यही पुष ३० गतेबाट प्रदर्शनमा आउँदैछ । एकातिर ‘चपली हाइट’ को ब्रान्ड जोगाउनु पर्ने चुनौती उनीमाथि छ भने अर्कोतिर आफ्नो निर्देशकिय क्षमताको परीक्षामा उत्रीर्ण हुनुपर्ने दबाबको भारी पनि छ ।
तर, उनी आफ्नो तर्फबाट चलचित्रमा शतप्रतिशत काम गरेकाले दर्शक र समीक्षकबाट राम्रो प्रतिक्रिया मिल्नेमा विश्वस्त छन् । उनी भन्छन्, ‘यो चलचित्र दर्शकहरुले हेरिराखेको फिल्मभन्दा फरक छ । कोरोना महामारीपछि ओटीटीमा दर्शकले सबैभन्दा बढी हेरेको जनरा नै क्राइम थ्रिलर हो । जसले गर्दा दर्शकको यो जनराप्रति अपेक्षा धेरै छ । दर्शकको त्यो अपेक्षा पूरा गर्ने काम गरेको छु ।’

चलचित्र हेर्दा समय र पैसा असुल हुनुपर्छ भन्ने मान्यता राख्ने निर्देशक खड्का ‘चपली हाइट ३’ ले दर्शकको समय र पैसा असुल गर्ने दाबी गर्छन् । चलचित्रको सस्पेन्स पाटोले दर्शकलाई हलमा बाँधेर राख्ने उनको कथन छ । ‘चपली हाइट ३’ जस्तो सस्पेन्स-थ्रिलर चलचित्र अहिलेसम्म नबनेको पनि उनी बताउँछन् । कथावस्तुको हिसाबले अघिल्ला दुई सिरिजभन्दा अलग रहेको उनको भनाई छ ।
अर्जुन कुमारले निर्माण गरेको यो चलचित्रमा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी, अर्पण थापा, प्रतिकमान श्रेष्ठ, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जीवन भट्टराई, सुष्मा निरौला लगायतको अभिनय छ । सुभाष भुषाल र अर्जुन कुमारको संगीत, पुरुषोत्तम प्रधानको छायांकन रहेको चलचित्रको कथा तथा संवाद आकाश बरालले लेखेका हुन् ।