हलमा उत्कृष्ट प्रतिक्रियासहित नाफाको व्यापार गरेको चलचित्र ‘मंगलम’ ले यतिबेला यूट्युबमा वाहवाही बटुलिरहेको छ । धेरै दर्शकले सिक्वेलको माग गरेका छन् । निर्देशक नवल खड्काले मंगलवार फेसबुकमा ‘मंगलम’ लेख्दै अभिनेता पुष्प खड्का र अभिनेत्री शिल्पा पोखरेलका केही पुराना तस्विरहरु साझेदार गरेपछि ‘मंगलम २’ बन्न लागेको चर्चा सुरु भएको छ ।
निर्देशक नेपालले दर्शकबाट प्राप्त प्रतिक्रियाले सिक्वेल बनाउनु पर्छ कि भन्ने सोचमा पुगेको भए पनि अहिलेसम्म कुनै निर्णय नभएको बताए । उनले भने- ‘हल र यूट्युबबाट आएको भाइब्रेटले एकखालको उर्जा भने दिएको छ । छवि बा (ओझा) सिक्वेल बनाउन तयार देखिनु भएको छ । पुष्प खड्का पनि सिक्वेल बनाउने कुरामा सकारात्मक हुनुहुन्छ रे । सबै कुरा सोचे जस्तो भयो भने बन्न पनि सक्छ ।’

‘सिक्वेल बन्ने अवस्था आयो भने पुरानै स्टारकास्ट (शिल्पा पोखरेल) दोहोर्याउन समस्या होला नी त ?’ भन्ने प्रश्नमा निर्देशक नेपाल भन्छन्, ‘समस्या हुन्छ भन्ने लाग्दैन । संसारमा सबै कुरा सहमति र सहकार्यमा हुने गर्छ । यसमानेमा स्टारकास्टमा समस्या आउँदैन । सिक्वेल बन्ने अवस्था आयो भने सबैजना बसेर सल्लाह र सहमति गर्ने छौं । यो ठूलो कुरा हो जस्तो लाग्दैन ।’
‘मंगलम’ को सिक्वेल बनाउँदा पहिलो श्रृंखलाभन्दा मनछुने र अब्बल दर्जाको बनाउनु पर्ने चुनौती आफूहरुमा हुने भएकाले यसका लागि कन्टेन्ट बलियो चाहिने उनको तर्क छ । छविराज ओझा र आफ्नो मनमा सिक्वेल बनाउनु पर्छ भन्ने झिल्को उठे पनि भोलीका दिनले यसको तय गर्ने निर्देशक नेपाल बताउँछन् । उनी पारिवारिक चलचित्र बनाउन सिपालु मानिन्छन् ।