चलचित्रमा जाने भए थिएटरतिर नअल्मलिन विपिनको सुझाव



अभिनेता विपिन कार्कीले चलचित्रमा अभिनय गर्न चाहनेले थिएटरतिर नअल्मलिन सुझाव दिएका छन् । उनले आफ्नै अनुभव प्रस्तुत गर्दै थिएटर र चलचित्र फरक माध्यम भएकाले चलचित्रमा अभिनय गर्न चाहानेले चलचित्रकै माध्यम समात्न सुझाव दिएका थिए ।

‘हामीलाई पनि सुरुमा यी दुई विधामा यतिविधि भिन्नता होला जस्तो लागेको थिएन । तर दुवैमा व्यापक भिन्नता रहेछ । अहिले चलचित्र ‘छड्के’ को विन्दु हेर्दा मैले कति धेरै लाउड गरेछु भन्ने महसुस हुन्छ,’ मंगलबार अस्कर इन्टरनेसनल कलेज, कलेज अफ फिल्म स्टडिजका १६ औँ ब्याचका विद्यार्थीसँग अन्तरक्रिया गर्दै विपिनले यस्तो धारणा राखेका थिए ।

गुरुकुल नाटक घरमा नाटकको प्रशिक्षण लिएका विपिनले ‘आचार्य’ चलचित्रमा सानो भूमिकामा अभिनय गर्दै ठूलो पर्दाको यात्रा सुरु गरेका थिए । ‘लुट’ मा पनि सानो भूमिकामा देखिएका विपिनले ‘छड्के’ गरेको विन्दु नामको भूमिकाले धेरैको मन जितेका थिए । ‘पशुपतिप्रसाद’ मा गरेको भष्मे डनको भूमिकाले भने विपिनलाई अभिनयमा बहुआयामिक कलाकारको रुपमा स्थापित गरेका थिए ।

आफूले निर्वाह गर्ने चरित्रमा कसरी डुब्नु हुन्छ ? भन्ने विद्यार्थीको प्रश्नमा विपिनको जवाफ थियो, ‘सबैका चरित्रमा पस्ने आआफ्नै तरिका हुन्छ । म चाहिँ स्क्रिप्ट कण्ठ पारेर यसको सुरुवात गर्छु । म स्क्रिप्ट कण्ठ पार्छु र यसो हुँदा मलाई चरित्रको सबै आयामको बारेमा थाहा हुन्छ । यसपछि चाहिँ म चरित्रलाई कसरी फरक गर्न सकिन्छ भनेर काम गर्छु ।’

अस्कर कलेजले कलेजमा भर्ना भएका विद्यार्थीलाई चलचित्र उद्योगका अनुभवीको अनुभव सुनाउन दुई हप्तादेखि फिल्मको विभिन्न विधाका व्यक्तिलाई अन्तरक्रियामा निम्त्याउँदै आएको छ । चार हप्तासम्म चल्ने यो अन्तक्र्रियामा यसअघि नीर शाह, सुरक्षा पन्त, विपिन स्थापित, मुकुन भुसाल, स्वस्तिमा खड्का, प्रदीप भट्टराई, निरञ्जनराज भेटवालले विद्यार्थी माझ आफ्नो अनुभव बाँडिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu