नेपालमा छायांकन र नेपाली कलाकारहरुले अभिनय गरेको मलयालम चलचित्र ‘थिरिमाली’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा नेपाली अभिनेत्री स्वस्तिमा खड्का र कलाकार माओत्से गुरुङलाई देख्न सकिन्छ । ट्रेलरमा स्वस्तिमाको आइटम डान्स समावेश छ । चलचित्रमा उनी एक आइटम गीतमा मात्र देखिनेछिन् भने माओत्सेको महत्त्वपूर्ण भूमिका रहेको जानकारी प्राप्त छ ।

राजीव शेठ्ठीको निर्देशनमा तयार भएको ‘थिरिमाली’ को नेपालमा पोखरा, काठमाडौं, लुक्ला लगायतका रमणीय स्थानमा छायांकन भएको थियो । ट्रेलरमा नेपालका दृश्यहरुलाई पर्याप्त ठाउँ दिइएको छ । कोरोना महामारीको समयमा नेपालमा छायांकन भएको चलचित्रको नेपाल निर्माताको रुपमा सरोज न्यौपाने छन् ।
हिन्दी, मलयालम, कन्नड, तमिल र तेलूगू भाषामा रिलिज हुने चलचित्रमा भारतीय कलाकारहरु विविन जर्ज, जोनी एन्टिवनी, सलिम कुमार, इनोसेन्ट, सोहन सीनुलाल, हरीश कणरण, अन्ना राजनका साथै नेपाली कलाकार उमेश तामाङको पनि अभिनय छ । चलचित्रलाई फजल अलीले खिचेका हुन् ।
एस के लरेन्स र रानी लरेन्स निर्माता रहेको चलचित्रको प्रदर्शन मिति घोषणा गरिएको छैन । चलचित्रले भारतबाट नेपाल घुम्न आएको तीन जना साथीको कथा भन्नेछ ।