सपना पाइरेसीको कुरा गर्ने ‘चिसो एस्ट्रे’ गीत



अस्कर इन्टरनेसनल कलेजका विद्यार्थीबीच चलचित्र ‘चिसो एस्ट्रे’ को ‘ड्रिम पाइरेसी’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा अजर जंगमको स्वर तथा संगीत रहेको छ भने शब्द निर्देशक दिनेश पाल्पालीले लेखेका हुन् । अरुले बाँचिरहेका सपनाहरु पूरा गर्न मानिसहरुले गरेको दौडधुपको कथा गीतले भन्छ । गायक जंगमले गीतले चलचित्रको कथालाई अभिव्यक्त गर्ने बताए ।

‘हामी अहिले ग्लोब भिलेजमा छौँ जहाँ हामीले देख्ने सपनासमेत आयातित छन् । चलचित्रमा चरित्रले यस्तै सपना देख्छन् जुन आफैँमा मौलिक होइनन् । निर्देशक दिनेश पाल्पालीले चलचित्रका चरित्रलाई खिपेर शब्द लेख्नु भएको थियो जसलाई मैले संगीत र स्वरद्धारा अभिव्यक्त गर्ने कोशिस गरेको छु,’ अजरले भने । गीतमा युवा पुस्ताको दैनिकी बनेका चुरोट, कन्भर्स, चश्मा आदिलाई एनिमेसन गरी देखाइएको छ ।

चैत ४ मा सार्वजनिक प्रदर्शनमा आउन लागेको चलचित्रलाई दिन्श पाल्पालीले निर्देशन गरेका हुन् । चलचित्रले आधुनिक बन्न खोज्दा आफैंलाई गुमाउन पुग्ने चरित्रको कथा पेस गर्छ । ‘एउटा गाउँले ठिटो सहरी ठिटो बन्ने चक्करमा कसरी चुरोटको ठुटो बन्छ, चलचित्र यही दर्शनमा केन्द्रित रहेको छ,’ गीत सार्वजनिक कार्यक्रममा फिल्मका निर्माता महेशबाबु तिमल्सिनाले भने ।

उज्जल बस्ताकोटीको छायांकन रहेको चलचित्रमा उज्जवल ढकालले सम्पादन र प्रशान्त रसाइलीले क्रिएटिभ हेडको जिम्मेवारी निर्वाह गरेका छन् । कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्मित चलचित्रलाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन् । निर्माणमा भने महेश बाबुलाई प्रबिन स्याङ्बा र सुष्मिता पराजुलीले सघाएका छन् । चलचित्रको सह–निर्मातामा भने रुपेश ढुंगाना, नविन ढुंगाना र सुजन खतिवडा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu