‘एक्स ९’ भन्दा अगाडि अनमोलले ‘पारस’ गर्ने



नेपाल र भारतका चर्चित कलाकारलाई लिएर निर्माण हुन लागेको चलचित्र ‘एक्स ९’ का लागि विगत ३ महिनादेखि मुख्य कलाकारहरु सौगात मल्ल, अनमोल केसी, पुष्प खड्का र राज कटुवालले जिम र एक्सनको तालिम लिँदै आएका छन् । चारै जना कलाकारले चलचित्रका लागि तौल बढाउनुका साथै शरीर सुगठित बनाएका छन् । निर्माण टिमले आउँदो फागुनबाट छायांकन सुरु गर्ने तयारी गरेको थियो ।

तर, अब यो चलचित्रको छायांकन बैशाखपछि मात्र सुरु हुने भएको छ । कोरोना संक्रमणको तेस्रो लहर र विदेशमा छायांकनका लागि कलाकारको भिषा प्रक्रियामा समय लाग्ने भएकाले तत्काल छायांकन सम्भव नभएको निर्देशक मुकुन्द भट्टले जानकारी दिए । फागुन १३ गते आफू निर्देशित ‘लप्पन छप्पन २’ को रिलिज भएकाले पनि ‘एक्स ९’ को छायांकन धकेल्नु परेको उनको भनाई छ ।

चलचित्रको छायांकन बैशाखपछि सुरु हुने जानकारी आफूले कलाकारहरुलाई गराइसकेको निर्देशक भट्टले बताए । ‘एक्स ९’ को छायांकन तत्काल नहुने भएपछि अनमोल केसीले होम प्रोडक्सनको चलचित्र ‘पारस’ को तयारी सुरु गरेका छन् । मुकुन्दले आफूले नै अनमोललाई पहिला ‘पारस’ गर्न अनुमति दिएको जानकारी दिए । यो चलचित्रलाई सिमोस सुनवारले निर्देशन गर्दैछन् ।

निर्माता भुवन केसीले ‘पारस’ को छायांकन फागुनबाट थाल्ने तयारी गरेको बताइएको छ । अनमोलले ‘एक्स ९’ का लागि पालेको जुँगा फ्यालिसकेका छन् । उनले ‘एक्स ९’ का लागि बनाएको सुगठित शरीर भने अब ‘पारस’ मा काम लाग्नेछ । किनकि, उनले यो चलचित्रका लागि पनि शरीर कसिलो बनाउनु पर्ने थियो । ‘एक्स ९’ को छायांकन सर्दा उनलाई ‘एक तिरमा दुई निशाना’ भएको छ ।

अनमोलसँगै ‘एक्स ९’ भन्दा अगाडि अभिनेता पुष्प खड्का पनि नयाँ चलचित्रमा काम गर्ने तयारीमा देखिएका छन् । अर्का अभिनेता सौगात मल्लले एक्सन र जिमको तालिम सकाएर गएको तीन महिनामा तीनवटा चलचित्रको छायांकन पूरा गरिसकेका छन् । त्यस्तै, राज कटुवालले माघपछि निर्देशक सुदर्शन थापाको निर्देशनमा बन्ने चलचित्र ‘राजा’ को छायांकन सुरु गर्ने जानकारी प्राप्त छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu