यही माघ १९ गतेबाट प्रदर्शनमा आउने भनिएको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को प्रदर्शन फेरि स्थगित भएको छ । कोरोना महामारीको तेस्रो लहर फैलिन नदिन सरकारले माघ १५ गतेसम्म हलहरु बन्द गर्ने निर्णय गरेपछि निर्माण टिमले चलचित्रको प्रदर्शन रोकेको हो । सुदर्शन थापा प्रोडक्सनले बुधवार एक विज्ञप्ति जारी गर्दै चलचित्रको रिलिज रोकिएको जानकारी गराएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘आम मानिसको स्वास्थ्यलाई ध्यानमा राख्दै कोरोना भाइरसबाट कसैलाई असर नहोस् भन्ने हेतुले नेपाल सरकारको कदममा कदम मिलाउँदै अर्को सूचना नआउँदासम्मलाई चलचित्र प्रदर्शन नगर्ने निर्णय गरेका छौं । कोरोना महामारीको तेस्रो लहर सहज भए पश्चात यस चलचित्रका वितरक तथा सम्पूर्ण संघ संस्थाहरुलाई समन्वय गरी नयाँ प्रदर्शन मिति तय गर्नेछौं ।’
कोरोनाका कारण सबैभन्दा बढी मारमा परेको यो चलचित्र यसअघि २०७६ सालको फागुन ३० गतेबाट प्रदर्शनमा आउने तयारीमा थियो । तर, रिलिजको संघारमा कोरोना संक्रमण भयावह रुपमा फैलिएपछि दर्शकहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै चलचित्रको प्रदर्शन अनिश्चितकालका लागि रोकियो । हलहरु खुलेपछि भने माघ १९ गतेलाई चलचित्रको प्रदर्शन मिति तोकिएको थियो ।

सुदर्शन थापाको निर्देशनमा बनेको चलचित्रमा पल शाह र पूजा शर्मा मुख्य भूमिकामा रहेका छन् । चलचित्रमा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकायको पनि अभिनय छ । शिवम अधिकारी र दिनेश न्यौपानेले चलचित्रको कथा लेखेका हुन् । बनिष शाह र मिलन श्रेष्ठको सम्पादन रहेको चलचित्र सौरभ लामाले खिचेका हुन् । चलचित्रमा अर्जुन पोखरेलको संगीत छ ।