केही समयदेखि अभिनेता पल शाह र गायिका समीक्षा अधिकारीको सम्बन्धलाई लिएर विभिन्न खाले चर्चा भइरहेको छ । यो कुरा मिडियामा आएपछि पल र समीक्षा दुवैले खण्डन गरेका थिए । समीक्षाले फेसबुकमा लामो स्टाटस लेख्दै पल शाह आफ्नो अभिभावक रहेको बताएकी थिइन् । तर, केही दिनयता उनले फेसबुकमा कसैप्रति लक्षित गरेर स्टाटस लेख्दै आएकी छन् ।

तीन दिनअघि समीक्षाले फेसबुकमार्फत् नारीलाई कमजोर नसम्झन चेतावनी दिएकी थिइन् । लगत्तै एक मुकुन्डोको तस्विर पोस्ट गर्दै उनले ‘रियल लाग्ने सबै अनुहार रियल हुँदैनन्’ भन्दै ‘विस्तारै मुकुन्डो खुल्ने’ बताएकी थिइन् । बिहीवार उनले पलसँगको सम्बन्धबारे स्पष्टिकरण दिएको पुरानो स्टाटसको स्क्रिनसट फेसबुकमा राख्दै यथार्थ खुलाउने समय आएको उल्लेख गरेकी छन् ।
उनले लेखेकी छन्, ‘म लामो केही लेख्दिनँ । २४ अक्टोबर २०२१ मा मेरो फेसबुक वालमा लेखिएको यो स्टाटस वास्तविकताभन्दा धेरै टाढा छ । जुन कसैको अनुनयमा लेखेको थिएँ । अब समय आउँदैछ, यथार्थ खुलाउनेछु ।’ उनले पल शाहसँगको सम्बन्धबारे यथार्थ खुलाउने स्पष्ट उल्लेख गर्दै घुमाउरो रुपमा पल शाहकै अनुनयमा पहिलाको स्टाटस लेखेको पनि संकेत गर्न खोजेकी छन् ।
