अभिनेता तथा निर्माता भुवन केसीले नेपाली भाषा, संस्कृतिको प्रवर्द्धन गर्न सरकारले कुनै सुविधा नदिएको र राष्ट्रिय चलचित्र नीति लागू नगरेर चलचित्रकर्मीलाई पिँजडाभित्र थुनेर राख्ने काम भएको बताएका छन् । राष्ट्रिय चलचित्र नीति लागू भए निर्माताहरु विदेशी चलचित्रसँग भिड्न तयार रहेको पनि उनको भनाई छ ।
आजसम्म चलचित्रकर्मीहरुले सरकार आफूहरुको साथमा छ भन्ने महशुस गर्न नपाएको गुनासो पोख्दै उनले भनेका छन्, ‘नेपाली चलचित्रलाई राज्यले मनोरञ्जनको रुपमा मात्र लिएको छ । चलचित्र मनोरञ्जन त हो नै, साथ-साथै भाषा, संस्कृति, पर्यटन लगायतलाई पनि जर्गेणा गरिरहेको छ । तर, राज्यले नै नेपाली चलचित्रलाई साथ दिएको छैन ।’

उनले नेपालमा विदेशी चलचित्रको बढ्दो अतिक्रमणले भयावह रुप लिएको पनि धारणा राखेका छन् । चलचित्रकै कारण आज कलिला बाल-बालिकाहरुले हिन्दी भाषा बोल्न थालेको बताउँदै उनले विदेशी चलचित्रको अतिक्रमण यथावत रहेको अवस्थामा अबको १० वर्षपछि बच्चा-बच्चीहरुले तमिल भाषा पनि बोल्न थाल्ने बताए ।
५ सय करोडमा बनेका विदेशी चलचित्रसँग १-२ करोडका नेपाली चलचित्र जुधिरहेको अवस्थामा पनि राज्यबाट आफूहरुलाई कुनै साथ नरहेको उनको गुनासो छ । नेपाली र विदेशी चलचित्रको टिकट दर एउटै हुनुले नेपाली चलचित्रमाथि अन्याय भएको उनी बताउँछन् । नेपाली चलचित्रलाई प्रवर्द्धन र प्राथमिकता दिन राज्यले नीति ल्याउनु पर्ने उनको सुझाव छ ।नेपालमा विदेशी चलचित्रको अतिक्रमण बढ्यो : भुवन केसी


