‘कुसुमे रुमाल, चिनो, लाहुरे, दक्षिणा, बलिदान, देवता, दर्पण छाँया’ जस्ता यादगार चलचित्र दिएका निर्देशक तुलसी घिमिरेसँग नेपाली नागरिकता छैन भन्ने कुरा धेरैलाई थाहा छ । भारतको कालिम्पोङमा जन्मिएका कारण उनले नेपाली नागरिकता नपाएका हुन् । उनले नेपाली नागरिकता लिने प्रयास नगरेका भने होइनन् तर सुनवाई भएन । यद्यपि, उनी कहिल्यै निराश भएनन् ।
हालै एक टेलिभिजन कार्यक्रममा नागरिकताको विषयमा उठेको प्रश्नमा उनले नेपालमा बसिरहँदा आजसम्म आफूले नागरिकताका कारण कुनै अप्ठ्यारो भोग्नु नपरेको बताए । तर, सम्मानीत नागरिकता पाए हुन्थ्यो भन्ने इच्छा उनको अझै पनि छ । जन्मभूमि (भारत) र कर्मभूमि (नेपाल) आफ्नो भावनासँग निकै नजिक रहेको र दुईमध्ये एउटालाई छान्न नसक्ने तुलसी घिमिरे बताउँछन् ।
उनी भन्छन्, ‘जन्मभूमि र कर्मभूमि मेरो भावनासँग एकदमै नजिक छन् । मेरो मातृभूमि हिन्दूस्तान हो । र, मैले भगवानभन्दा माथि राखेको मेरी आमा हो । मेरो कर्मभूमि (नेपाल) आमाको मातृभूमि हो । मेरो मातृभूमि र आमाको मातृभूमिसँग जोडिएको मेरो भावनाको स्तरमा कोही पुग्न सक्दैन ।’ तुलसी घिमिरेले कुनै बेला नेपाली नागरिकता लिएर अस्कार जित्ने सपना देखेको पनि स्मरण गरे ।