निर्देशक दीपेन्द्र के. खनाल र अभिनेता तथा लेखक खगेन्द्र लामिछाने चलचित्र ‘पशुपति प्रसाद’ को सिक्वेल बनाउने तयारी गरिरहेका छन् । तर, कथालाई कसरी अगाढि बढाउने भन्नेमा निधो नभइसकेको दीपेन्द्र बताउँछन् । अघिल्लो श्रृंखलामा मुख्य भूमिकामा अभिनय गरेका अभिनेता विपिन कार्कीले भने सिक्वेलमा पनि आफू ‘भष्मे डन’ को चरित्रमा देखिन सक्ने संकेत गरेका छन् ।
एक अन्तर्वार्तामा उनले भनेका छन्, ‘मैले ‘पशुपति प्रसाद’ मा निर्वाह गरेको ‘भष्मे डन’ को चश्मा अहिले पनि जोगाएर राखेको छु । त्यो एकदमै जुगाड चश्मा थियो । चलचित्रको छायांकन सकिएपछि म आफैंले त्यो चश्मा लिएर गएको थिएँ । अब ‘पशुपति प्रसाद २’ बन्ने तयारीमा छ, त्यसका लागि काम लाग्छ । त्यो चश्मा मैले नराखेको भए कहिँ हुँदैन थियो । त्यो ७० वर्ष अगाडिको चश्मा हो ।’

कलाकार भएपछि क्यारेक्टरलाई माया गर्न सक्नुपर्ने उनको कथन छ । चलचित्रको कथा सुनेपछि आफ्नो दिमागमा क्यारेक्टरको चित्र तयार हुने र त्यसका लागि चाहिने प्रप्सहरु प्रायः आफैंले खोज्ने गरेको उनी सुनाउँछन् । हालसालै छायांकन सकिएको चलचित्र ‘द रेड सुटकेश’ मा पूर्व आर्मीको चरित्र निर्वाह गर्न बुबाले आर्मी हुँदा प्रयोग गरेका सबै सामान लिएर आएको उनले स्मरण गरे ।
‘पशुपति प्रसाद’ मा ‘भष्मे डन’ को चरित्रका लागि प्लास्टिकको पहेंलो बेल्ट खोज्न काठमाडौं पूरै घुम्दा नपाएपछि गाउँको हाट बजारबाट मगाएको उनले सम्झिए । तर, चलचित्रको छायांकन सकिएपछि क्यारेक्टरसँग सम्बन्ध राख्ने कुनै चिज आफ्नो साथमा नराख्ने उनी बताउँछन् । नयाँ चलचित्रमा काम गर्दा अघिल्लो चलचित्रको क्यारेक्टरबाट पूर्ण रुपमा मुक्त हुनुपर्ने उनको भनाई छ ।


