दर्शकसँँग जोडिन साम्राज्ञीले थालिन् भ्लग



इन्टरनेटको बढ्दो पहुँचले नेपाली कलाकारहरु पछिल्लो समय सामाजिक सञ्जालमा सहजै उपलब्ध हुन थालेका छन् । कोरोना महामारीपछि त केही कलाकारहरु पत्रकार समेत बनेका छन् । आफ्नै नाममा यूट्युब खोलेर कसैले अन्तर्वार्ता चलाइरहेका छन् भने कसैले भ्लगको नाममा घरभित्रका सबै कुरा देखाइसकेका छन् । अहिले यूट्युब नखोलेका नेपाली कलाकारहरु भेट्नै गाह्रो छ ।

सेलिब्रेटी भएपछि यूट्युबमा भिडियो हेर्नेको संख्या उल्लेख्य हुन्छ । जसबाट राम्रो रेभिन्यू (डलर) आउँछ । भारतका केही नाम चलेका कलाकारहरुले पनि आफ्नै नाममा यूट्युब खोलेका छन् तर उनीहरुले यूट्युबलाई आफ्नो बारेमा जानकारी दिने प्लेटफर्मको रुपमा मात्र प्रयोग गरेको पाइन्छ । दुईतिर कुर्सी राखेर अन्तर्वार्तामै उत्रिँदैनन्, जसरी नेपालमा केही कलाकारले गरिरहेका छन् ।

करिश्मा मानन्धर, प्रियंका कार्की, रीमा विश्वकर्मा, केकी अधिकारी, पल शाह, ऋचा शर्मा लगायतका कलाकारहरुले आफ्नै नाममा यूट्युब खोलेर कसैले भ्लग त कसैले अन्तर्वार्ता चलाइरहेका छन् । यसैक्रममा, अभिनेत्री साम्राज्ञी आरएल शाहले पनि यूट्युबमा डेब्यू गरेकी छन् । उनले ‘एसआरएलएस’ नाममा यूट्युब च्यानल खोल्दै २२ जनवरी २०२२ मा ‘माई फर्स्ट भ्लग’ भन्दै एउटा भिडियो राखेकी छन् ।

पहिलो भ्लगमा उनले नयाँ चलचित्रको वर्कसपदेखि प्रियंका कार्कीलाई अन्तर्वार्ता दिएको भिडियोसम्म समावेश गरेकी छन् । साम्राज्ञी रिजर्भ भएर बस्ने अभिनेत्रीको रुपमा चिनिन्छन् । उनलाई चलचित्रबाहेक प्रत्यक्ष भेट्न दर्शकलाई मुश्किल हुन्छ । अब उनले भ्लगको माध्यमबाट दर्शकसँँग जोडिने प्रयास गरेकी छन् । उनको पहिलो भ्लगलाई दर्शकले रुचाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu