‘थिरिमाली’ गीत : दर्शकले स्वस्तिमाको नृत्यलाई भने ‘आगो’



अभिनेत्री स्वस्तिमा खड्काले अभिनय गरेको पहिलो साउथ इन्डियन चलचित्र ‘थिरिमाली’ को शनिवार पहिलो गीत ‘रंग विरंगी रात फिरंगी’ सार्वजनिक भयो । भारतकी चर्चित गायिका सुनिधि चौहानको स्वरमा रहेको गीतको भिडियोमा स्वस्तिमाले बोल्ड अवतारमा आकर्षक नृत्य गरेकी छन् । गीत सार्वजनिक भएसँगै अहिले उनको नृत्यको प्रशंसा भइरहेको छ ।

नेपालको यूट्युब ट्रेन्डिङको दोस्रो स्थानमा रहेको गीतलाई १२ लाख बढीले हेरिसकेका छन् भने ८८ हजारभन्दा बढी लाइक्स मिलेको छ । भारतको साइना म्यूजिक यूट्युबबाट सार्वजनिक भएको गीतलाई २ हजार ६ सय बढी कमेन्ट प्राप्त छ । गीतमा अधिकांश कमेन्ट नेपालीले गरेका छन् । प्रायःले कमेन्ट बक्समा स्वस्तिमाको इनर्जीको प्रशंसामा शब्द खर्चिएका छन् ।

कसैले स्वस्तिमाको नृत्यलाई ‘आगो’ को संज्ञा दिएका छन् भने कसैले नेपाल र नेपाली चलचित्र क्षेत्रकै शिर स्वस्तिमाले उचो बनाएकोमा गर्व महशुस गरेका छन् । गीत हेरेपछि धेरैले अब चलचित्रको प्रतिक्षा रहेको बताएका छन् । स्वस्तिमाको नृत्यको प्रशंसा गर्न भारतीय दर्शकहरुले पनि कञ्जुसाइँ गरेका छैनन् ।

गीतमा आफ्नो नृत्यलाई दर्शकहरुले रुचाएपछि स्वस्तिमाले सामाजिक सञ्जालमार्फत् धन्यवाद व्यक्त गरेकी छन् । उनले सोमवार इन्स्टाग्राममा लेखेकी छन्, ‘के तपाईंहरुले गीत हेर्नुभयो ? हेर्नुभएको छैन भने हेर्नुहोला । मैले राम्रो काम गर्नका लागि आफ्नोतर्फबाट पूरा कोशिश गरेको छु । तपाईंहरुले निस्वार्थ प्रेमबाट मलाई अनुग्रह गर्नुभएकोमा धन्यवाद ।’

राजीव शेठ्ठीको निर्देशनमा तयार भएको ‘थिरिमाली’ मा नेपाली कलाकार माओत्से गुरुङ र उमेश तामाङसँगै भारतीय कलाकारहरु विविन जर्ज, जोनी एन्टिवनी, सलिम कुमार, इनोसेन्ट, सोहन सीनुलाल, हरीश कणरण, अन्ना राजनको अभिनय छ । गत वर्ष नेपालको पोखरा, काठमाडौं, लुक्लामा चलचित्र खिचिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu