वि.सं १९२४ मा नेपाल र अङ्ग्रेजबीच भएको युद्धमा आधारित भएर नेपाली चलचित्र ‘सिन्धुलीगढी’ निर्माण हुने भएको छ । मंगलवार चलचित्र विकास बोर्डमा चलचित्रको नाम दर्ता गरिएको हो । सास इन्टरटेन्मेन्ट सिनेमा प्रा.लिको ब्यानरमा निर्माण हुने चलचित्रलाई विश्वमणि घिमिरेले निर्देशन गर्नेछन् । चलचित्रको कथा पनि उनले लामो समयको अध्ययन र अनुसन्धानपछि तयार पारेका हुन् ।

सास अधिकारीले निर्माण गर्ने चलचित्रको छायांकन सिन्धुलीगढी र काभ्रे हुने बताइएको छ । निर्माता अधिकारीले लामो समयदेखिको खोज, अध्ययन र अनुसन्धान पश्चात् चलचित्र निर्माण गर्न लागेको फेसबुकमार्फत् जानकारी दिएका छन् । उनले चलचित्रलाई दक्षिण भारतीय निर्देशक एसएस राजामौलीले सहयोग गर्ने पनि बताएका छन् । चलचित्रको पोष्ट प्रोडक्सनको काम मुम्बईमा हुनेछ ।
निर्माता अधिकारीले चलचित्रलाई हिन्दी र अङ्ग्रेजी भाषामा डब गरिने जानकारी दिए । नेपाली चलचित्रको इतिहासमै ठूलो लगानीमा चलचित्र ‘सिन्धुलीगढी’ निर्माण हुने उनको भनाई छ । उनले चलचित्रका लागि मुख्य कलाकारहरु अडिसनको प्रक्रियाबाट छनोट कार्य भइरहेको बताए । कोरोना महामारीको अवस्था हेरेर फागुनको दोस्रो साताबाट छायांकन सुरु गर्ने तयारीमा निर्माण टिम छ ।


