दुई वर्षपछि चलचित्रको छायांकनमा वर्षा



२०७६ सालमा अभिनेत्री वर्षा राउतले दुई हप्ताको अन्तरमा दुई चलचित्र ‘दुई नम्बरी’ र ‘के घर के डेरा’ साइन गरेकी थिइन् । उनले त्यही वर्षको फागुनमा चलचित्र ‘दुई नम्बरी’ को सुटिङ पनि सुरु गरिन् । तर, छायांकनकै क्रममा कोरोनाका कारण देश लकडाउन भयो । कोरोना महामारी फैलिएपछि रोकिएको यो चलचित्रको छायांकन दुई वर्ष हुन लाग्दा पनि पुनः सुरु हुन सकेको छैन ।

उनले साइन गरेको अर्को चलचित्र ‘के घर के डेरा’ को छायांकन पनि अन्योल छ । पहिलो र दोस्रो चरणको लकडाउनपछि अरु अभिनेत्रीहरुले लगातार चलचित्रमा काम गरिरहँदा वर्षाले भने चलचित्रको छायांकन गर्न पाइनन् । यो समयमा उनी म्यूजिक भिडियोमै बढी देखिइन् । आफ्नो चलचित्रको काम सुरु नहुँदा उनी निराश बनेकी थिइन् ।

‘दुई नम्बरी’ र ‘के घर के डेरा’ को छायांकन सुरु हुने छाँटकाँट नदेखेपछि वर्षाले गत पुषमा चलचित्र ‘लाखे’ साइन गरिन् । तर, उनले चलचित्र साइन गरे लगत्तै कोरोनाको तेस्रो लहर सुरु भयो । जसले गर्दा यो चलचित्रको छायांकन पनि अन्योल बनेको थियो । तर, महामारीका बीच ‘लाखे’ को पुष अन्तिमबाट सुटिङ सुरु भएको छ । र, दुई वर्षपछि वर्षा चलचित्रको छायांकनमा फर्किएकी छन् ।

छायांकन सुरु भएको १३ दिनपछि मंगलवारबाट उनले ‘लाखे’ को सुटिङ ज्वाइन गरेकी हुन् । दुई वर्षसम्म चलचित्रको छायांकनबाट टाढा रहेकी उनी काममा फर्किन पाउँदाको खुसी देखिएकी छन् । कोरोना महामारीका कारण दुई यूनिट बनाएर सुटिङ भइरहेको फिल्ममा वर्षासँगै सौगात मल्ल, अनुपविक्रम शाही, अर्पण थापा, आर्यन अधिकारी लगायतको पनि अभिनय छ । चलचित्रका निर्देशक सम्राट बस्नेत हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu