गत भदौ १२ गते विद्युत सर्ट भएर आगलागी भएको सुनसरीको झुम्का रामधुनीस्थित म्याजिक सिनेमा हल ६ महिनामै पुरानो अवस्थामा फर्किएको छ । आगलागीका कारण २ करोड क्षति भएको हललाई साढे २ करोड खर्च गरेर सुविधा सम्पन्न बनाइएको छ । हलका सञ्चालक पर्शुराम चौधरीले पहिलाको कमी कमजोरीलाई सच्याउँदै हललाई नयाँ स्वरुपमा साजसज्जाका साथ तयार गरेको जानकारी दिए ।
उनले भने- ‘अहिले हलको रुपरंग नै बदलिएको छ । ५.१ साउन्ड सिस्टम पहिला पनि थियो । अहिले एमपी फाइभसँगै ६ वटा अत्याधुनिक स्पिकरहरु थपेको छु । पर्दा पछाडिको बुफर दुईवटा बनाएको छ । पहिला डिजिटल प्रोजेक्टर थियो । अहिले एचडी डिजिटल बनाएको छु । पर्दाको लम्बाई र चौडाई पनि बढाएँ । कुर्सीहरु पनि पहिलाकोभन्दा अहिले एकदमै आरामदायी छ ।’
अहिले सबै सामानको मुल्य आकाशिएकाले हलको लागत बढेको सञ्चालक चौधरी बताउँछन् । सांस्कृतिक कार्यक्रम गर्न मिल्ने गरी हलको स्टेजसँगै क्लब लाइटिङको पनि व्यवस्था गरिएको उनले जानकारी दिए । अब हल चलचित्र प्रदर्शनका लागि तयार भएको र सरकारले सिनेमा हल खोल्न अनुमति दिएपछि ठूलो नेपाली वा विदेशी चलचित्रबाट हललाई सञ्चालन गर्ने उनले बताए ।
लामो समय नेपाली चलचित्रमा सम्पादक र साउन्ड डिजाइनरको रुपमा काम गरेका म्याजिक सिनेमा हलका सञ्चालक चौधरी चलचित्रप्रति माया भएकै कारण पुनः ठूलो खर्चमा हललाई तयार गरेको बताए । थारु भाषाको पहिलो चलचित्रको निर्माता समेत गरेका उनी हलले गति लिएपछि फेरि चलचित्र निर्माणमा फर्किने योजनामा छन् । उनले केही नेपाली चलचित्रमा अभिनय पनि गरेका छन् ।