सरकारले आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेपछि यही मितिमा प्रदर्शनमा आउन लागेको चलचित्र ‘चिसो मान्छे’ को रिलिज सर्ने भएको छ । निर्वाचनको दिन सार्वजनिक विदा हुने र यातायात आवातजावत पनि ठप्प हुने भएकाले चलचित्रको रिलिज सार्ने निर्णयमा निर्माता पुगेका हुन् । चाँडै चलचित्रको नयाँ प्रदर्शन मिति घोषणा गर्ने तयारीमा निर्माण टिम छ ।

निर्देशक दीपेन्द्र के. खनालले भने- ‘अब चलचित्रको रिलिज नसारेर पनि के गर्नु ? विकल्प नै छैन । अब बैशाख ३० भन्दा अगाडि चलचित्र रिलिज गर्न सकिन्छ कि पछाडि भनेर अहिले हामी छलफलमा छौं । म त फागुन १३ गते पनि चलचित्र लगाउन तयार छु । किनकि, चलचित्रदेखि टिजरसम्म सबै तयार छ । सम्भवतः यसै साता चलचित्रको नयाँ प्रदर्शन मिति घोषणा गर्नेछौं ।’
‘आमा’ निर्मात्री शर्मिला पाण्डेको लगानीमा निर्माण भएको चलचित्रमा स्वस्तिमा खड्का र अर्पण थापा पनि मुख्य भूमिकामा छन् । यस्तै, चलचित्रमा देशभक्त खनाल, आशान्त शर्मा, झकेन बीसी लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । चलचित्रको निर्देशन, कथा, पटकथा, संवाद र छायांकन दीपेन्द्र के. खनालको हो । अब यो चलचित्र जेठमा रिलिज हुने सम्भावना बलियो छ ।


